भद्रपुर । भाडामा सञ्चालित भद्रपुर २ वडा कार्यालयको आफ्नै भवन बन्ने भएको छ । कार्यालय नभएका सबै वडामा आफ्नै भवन बनाई जनतालाई सेवा दिने उद्देश्यका साथ भद्रपुर नगरपालिकाले यसवर्ष दुईवटा वडा कार्यालय भवन निर्माण गर्ने योजना बनाएको छ

यसैक्रममा वडा नं २ को सगरमाथाचोकमा सोमबार भवनको शिलान्यास गरिएको छ । स्थानीय जग्गादाता मिनप्रसाद लिङदेन, दिपा लिम्बू, रमला अधिकारी, तारा अधिकारी र शिवप्रसाद अधिकारीले निःशुल्क उपलब्ध गराएको १५ कट्ठा क्षेत्रफलमा निर्माण हुने निर्माणस्थल परिसरमा आयोजित एक समारोहका बीच नगरप्रमुख जीवनकुमार श्रेष्ठ र उपप्रमुख चन्द्रा श्रेष्ठले संयुक्त रुपमा वडा कार्यालय भवन शिलान्यास गरेका छन् ।

भवनको भूइँतलामा ६ वटा कोठा, एउटा बैठक कोठा र ३ वटा शौचालय रहने छ भने पहिलो तलामा एउटा हल र महिला र पुरुषको लागि छुट्टाछुट्टै शौचालय रहनेछ । सम्झौता मितिले १५ महिनामा सम्पन्न गरिसक्नुपर्ने भवनको निर्माणको जिम्मा लक्ष्मी माता पी एण्ड जी जेभीले लिएको इञ्जिनियर योगेन्द्र रञ्जितकारले जानकारी दिए । भवन निर्माणको लागत १ करोड ६० लाख २६ हजार १७२ रुपैयाँ रहेको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीबहादुर श्रेष्ठले स्वागतसहित योजनाका बारेमा प्रकाश पारेको शिलान्यास समारोहमा नेकपा भद्रपुरका अध्यक्ष शिवकुमार राजभण्डारी, नेपाली कांग्रेस ३ नं क्षेत्रीय सभापति गणेश पोखरेल, राप्रपा भद्रपुरकी अध्यक्ष राधा कार्की, संघीय समाजवादी फोरमका नरदीप लिम्बू, कमलधाप पर्यटकीय क्षेत्र समितिका अध्यक्ष राजु दाहाललगायतले समयमै भवन निर्माण सम्पन्न गर्न आग्रह गरे । समारोहको सञ्चालन इञ्जिनियर रञ्जितकारले गरेका थिए भने वडाध्यक्ष भीम सुब्बाले वडावासीको सहजताको लागि निर्माण शुरु भएको भवन निर्माणमा सहयोग पुर्याउन आग्रह गरेका थिए ।

त्यसैगरी कमलधाप पर्यटकीय क्षेत्र निर्माणका लागि शिलान्यास भएको छ । ६० हेक्टर जग्गामा निर्माणाधीन संरचनाको रकम ४ करोड ३८ लाख ३ हजार ५ सय ७९ भ्याट सहित ७६ साल ३ महिना २५ गते सम्झौता भई ०७८ साल ३ महिना २४ गते सम्पन्न गर्नु पर्ने जिम्मा आर एण्ड सी र नया युग जे.भी ले लिएको निर्माण समिति संयोजक राजु दाहालले बताउनुभयो ।