झापा । झापाका दुई छुट्टाछुट्टै स्थानमा सोमबार राति भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

सोमबार राति ८ बजेको समयमा दुधेबाट शिवगन्जतर्फ जाँदै गरेको मे. २ प ३५३९ नम्बरको मोटरसाइकलको ठक्करले बुद्धशान्ति गाउँपालिका-३ का ४२ वर्षीय इन्द्रबहादुर दंगालको मृत्यु भएको छ। घाइते भएका दंगालको उपचारको क्रममा बिएण्डसी अस्पताल विर्तामोडमा मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ। मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यसैगरी, झापाको कमल गाउँपालिका-३ कमल पुल छेउमा बस आफैं अनियन्त्रित भई पल्टिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन्।

सोमबार राति पौने १२ बजे पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे १ ख ३०८७ नम्बरको बस आफैं अनियन्त्रित भएर पल्टिएको इलाका प्रहरी कार्यालय दमकलले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका झापाको दमक नगरपालिका-८ बस्ने २६ वर्षीय शंकर पौदार र सोही नगरपालिका-१ बस्ने वर्ष २६ को पप्पु चौधरीलाई उपचारको लागि लाइफलाइन अस्पताल दमक पठाएकोमा शंकर पौदारको बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटना भएको बस प्रहरी चौकी केर्खाको नियन्त्रणमा रहेको छ। बसका चालक र सहचालक फरार रहेकोले खोजी भइरहेको प्रहरीले जनाएको छ।