भद्रपुर । भद्रपुर नगरपालिका वडा नं ७ कार्यालयको आफ्नै भवन बन्ने भएको छ । यसैगरी, सोही वडामा आधारभूत स्वास्थ्य केन्द्र पनि निर्माण हुने भएको छ ।

बुधबार दुवै भवनको शिलान्यास गरिएको छ । छुट्टाछुट्टै स्थानमा भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठ र उपप्रमुख चन्द्रा श्रेष्ठले ती भवनको संयुक्तरुपमा शिलान्यास गरे ।

वडा नं ७ का वडा सदस्य फूलसिंह राजवंशीले निःशुल्क रुपमा उपलब्ध गराएको १ कट्ठा जग्गामा एकतले स्वास्थ्य केन्द्र निर्माण हुनेछ भने स्थानीय जग्गादाता अच्युत पोखरेलले पाँच कट्ठा, शिवकुमार ओझाले दुर्ई कट्ठा र दिपेश ढकालले बाटोका लागि निःशुल्क जग्गा उपलब्ध गराएपछि वडा कार्यालय भवन बन्न लागेको हो ।

वडा कार्यालय भवनको भूइँतलामा ६ वटा कोठा, एउटा प्रतिक्षालय र २ वटा एटेच शौचालय रहनेछ भने पहिलो तलामा एउटा हल र महिला र पुरुषको लागि छुट्टाछुट्टै शौचालय रहनेछ ।

१ करोड ७० लाख ७८ हजार १०२ रुपैयाँ लागत रहेको भवन निर्माणको जिम्मा सगरमाथा कन्स्ट्रक्सनले लिएको इञ्जिनियर योगेन्द्र रञ्जितकारले जानकारी दिए । निर्माण व्यवसायी शम्भु कार्कीले बाधा–अड्चन नआए तोकिएको समय ०७७ मंसिर १५ भित्र निर्माण सम्पन्न गरी भवन हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएका छन् ।

यसैगरी, तीनवटा कोठा र एउटा शौचालयसहितको स्वास्थ्य केन्द्र भवनको लागत २२ लाख ९५ लाख ८७० रहेको छ भने अर्जुनकुमार थापा सञ्चालक रहेको ऊँ शान्ति निर्माण सेवाले निर्माणको जिम्मा लिएको इञ्जिनियर रञ्जितकारले जानकारी दिए ।

शिलान्यासपछि आयोजित समारोहका वक्ताहरुले दुवै भवन गुणस्तरीय र नमूनायोग्य बन्नुपर्नेमा जोड दिए । उनीहरुले समयमै निर्माण सम्पन्न गरी भवनहरु नगरपालिकालाई हस्तान्तरण गर्न आग्रह गर्दै यी भवनको निर्माणले वडाबासीको कार्यसम्पादन र स्वास्थ्य सेवामा सहजता आउने उल्लेख गरे ।

नगरप्रमुख श्रेष्ठको अध्यक्षतामा आयोजित समारोहमा वडाध्यक्ष विनोदप्रसाद पोखरेलले वडाका गतिविधिबारे जानकारी गराएका थिए भने प्रमुख प्रशासकीय अधिकृत तुलसीबहादुर श्रेष्ठले योजनाहरुका बारे प्रकाश पारेका थिए ।

प्रशासकीय अधिकृत गोपाल आचार्यले सञ्चालन गरेको समारोहमा पूर्व सांसद पुष्पराज पोखरेल, जिल्ला समन्वय समिति झापाकी उपप्रमुख मीना पराजुली, नगर उपप्रमुख चन्द्रा श्रेष्ठ, नेपाली कांग्रेस ३ नं क्षेत्रीय सभापति गणेश पोखरेल, झापा उद्योग संघका अध्यक्ष टिकाराज ढकाललगायतले समयमै योजना सम्पन्नका लागि शुभकामना व्यक्त गरेका थिए ।