0 Shares

झापा । पर्यटन भ्रमण वर्ष २०२० नजिकिँदै गर्दा झापा निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित संघीय सांसद एलपी साँवाले आफ्नो निर्वाचन क्षेत्रका धार्मिक तथा पर्यटकीय क्षेत्रको स्थलगत अनुगमन भ्रमण सुरु गरेका छन् ।

पर्यटन वर्ष भव्यरुपमा सफल बनाउन र आन्तरिक तथा बाह्य पर्यटक आफ्नो निर्वाचन क्षेत्रमा आउनसक्ने वातावरण सिर्जना गर्न सांसद साँवाले अनुगमन भ्रमणलाई तीव्र बनाएका हुन् । सांसद साँवाको निर्वाचन क्षेत्रमा कम्तिमा ७ वटा धार्मिक तथा पर्यटकीय क्षेत्र छन् ।

शिवसताक्षी नगरमा सताक्षीधाम, दोमुखा र चिल्लागढ पोखरी छन् । यस्तै कनकाई नगरपालिकामा कोटिहोम, धनुषकुोटीधाम, जामुनखाडी सिमसार र झापा गाउँपालिकामा रानी वनजस्ता पर्यटकीय क्षेत्र छन् । यस्तै, गौरीगञ्ज गाउँपालिकामा कोरोबारी सिमसार रहेको साँवाका स्वकीय सचिव सिकिन पासवानले बताए । सो सिमबार हुलाकी राजमार्गमा पर्छ ।

यसैबीच, सांसद साँवाले बुधबार शिवसताक्षी नगरको सताक्षीधामको स्थलगत अनुगमन गरेका छन् । स्थानीय गोलोक गोवद्र्धन गौशालाले आयोजना गर्न लागेको सताक्षी धार्मिक महोत्सव एवं १०८ कुण्डको कोटीहोमको बारेमा उनले जानकारी पनि लिए । उक्त महोत्सव कात्तिक २७ देखि मंसिर ९ गतेसम्म आयोजना हुने गौशालाका संरक्षक आचार्य नन्दकिशोर भारद्वाजले बताए । कोटीहोममा २० हजार विदेशी र ५ लाख आन्तरिक पर्यटक तथा धर्मावलम्वी आउने आयोजकले दाबी गरेको छ ।

सांसद साँवाले आगन्तुक पाहुनाका लागि आवास, भोजन, खानेपानी, शौचालय, सञ्चार, सुरक्षा, स्वास्थ्यलगायतको बारेमा प्रबन्ध मिलाउन आयोजक समितिसँग आग्रह गरेका छन् । उनले भने, ‘म अस्थायी प्रकृतिका १०० शौचालय बिहीबारदेखि नै निर्माण गरिदिनेछु, त्यसका लागि आर्थिक व्यवभार आयोजकले व्यहोर्नु पर्दैन मेरै सचिवालयले त्यसको प्रबन्ध गर्नेछ ।’

गौशालाकै कारण सताक्षीधाममा देशी विदेशी पाहुना आएर बस्न सक्ने वातावरण निर्माण भएकोमा गोलोक गोवद्र्धन गौशाला धन्यवादको पात्र भएको साँवाले बताए । उनले भने, ‘म यहीको बासिन्दा हुँ गौशाला निर्माण हुनुभन्दा अघि र पछिको सताक्षीधाममा धेरै परिवर्तन आएको मैले देखेको छु । पछिल्ला दिन आन्तरिक तथा बाह्य पर्यटकका लागि सताक्षीधाम पहिलो रोजाइको धार्मिक तथा पर्यटकीय गन्तव्य बन्न थालेको छ ।’

साँवाले आफ्नो निर्वाचन क्षेत्रमा आउने स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रम (क्षेत्र विकास कोष) बाट सताक्षीधाममा जल कुण्ड निर्माण गर्ने बताए । त्यसका लागि उनले ५० लाख विनियोजन गरेका छन् ।

बिहीबार बिहान स्थानीय तहका जनप्रतिनिधि, पत्रकार, वन आयोजनाका प्रतिनिधिसँग जल कुण्डको सम्भाव्यता अध्ययनका लागि सताक्षीधाम क्षेत्रको मैनाचुली वन क्षेत्रमा जाने सासद साँवाले बताएका छन् । साँवाले बिहीबार र शुक्रबार अन्य स्थानको स्थलगत अनुगमन गर्ने बताइएको छ ।