बिर्तामोड । खुला दिसामुक्त जिल्ला घोषणापछि झापाका तीन पालिकामा नमूना योजनाका रुपमा यसै वर्षबाट सञ्चालन गरिएको पूर्ण सरसफाई अभियानले तिव्रता पाएको छ ।
झापाको बिर्तामोड नगरपालिका, कमल गाउँपालिका र गौरीगञ्ज गाउँपालिकाका १४ वटा वार्डमा अभियान सञ्चालनका लागि चयन गरिएका सहजकर्ताहरुलाई पूर्ण सरसफाइका चरण र प्रक्रियाका बारेमा प्रशिक्षित गरिएको छ ।
गुएन ह्याविट्याटको ग्लोबल स्यानिटेसन फण्डको आर्थिक सहयोगमा स्थानीय साझेदारका रुपमा झापाको बिर्तामोडस्थित विराट सामुदायिक अध्ययन केन्द्रले पूर्ण सरसफाइको सहजीकरण गर्दै आएको छ । यसैक्रममा केन्द्रकै आयोजनामा सहजकर्ताहरुलाई तीनदिने प्रशिक्षक प्रशिक्षण तालिम प्रदान गरिएको हो ।

आइतबारदेखि शुरु गरिएको प्रशिक्षण मंगलबार अपरान्ह सकिएको हो । प्रशिक्षणको सहजीकरण सरसफाइको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका अभियानकर्मी होमनाथ आचार्य, ग्लोबल स्यानिटेसन फण्डका राजेश मानन्धर, दुर्गाप्रसाद नेपाल, जिल्ला सहजकर्ता विनोदप्रसाद शर्मा, कार्यक्रम अधिकृत सोम आचार्यले गरेका थिए ।
मंगलबार केन्द्रका अध्यक्ष मोहन शिवाकोटीको अध्यक्षतामा आयोजित समापन समारोहका प्रमुख अतिथि जिल्लास्तरीय खानेपानी तथा सरसफाइ समन्वय समितिका अध्यक्ष जिसस झापा प्रमुख सोमनाथ पोर्तेलले सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।