इलाम । तीन सातादेखि बन्द रहेको मातृ शिशु क्लिनिक सञ्चालनमा आएको छ । क्लिनिकमा कार्यरत कर्मचारीको स्थानीय तहमा समायोजन भएपछि क्लिनिक असोज १५ गतेदेखि बन्द थियो । क्लिनिक बन्द हुँदा सुत्केरी महिला प्रभावित बनेका थिए । क्लिनिक सञ्चालनको लागि इलाम नगरपालिकाले एक जना स्वास्थ्यकर्मी खटाउने भएको छ ।
क्लिनिकमा आवश्यक सामग्री स्वास्थ्य कार्यालयले उपलब्ध गराउने भएपछि बुधबार आजदेखि क्लिनिक सञ्चालनमा आउने भएको हो । ‘जनगुनासोको सम्बोधन गर्दै नगरपालिकाले एक जना कर्मचारी खटाउने निर्णय गरेको छ’, इलाम नगरपालिका स्वास्थ्य शाखाकी उपप्रमुख रमन्ता पौडेलले भनिन्, ‘नगरपालिकाले कर्मचारी व्यवस्थापन गर्ने र स्वास्थ्य कार्यालयले आवश्यक सामग्रीको ब्यवस्था मिलाएर क्लिनिक सञ्चालन गरिने भएको हो ।’ क्लिनिक सञ्चालन हुने भएपछि प्रभावित भएका गर्भवती महिलालाई राहत हुने भएको छ ।

त्यस्तै प्रत्येक महिनाको ३ र २७ गते नवजात शिशुलाई खोप लगाइने भएको छ । क्लिनिकबाट नियमित रुपमा परिवार नियोजनको सेवा उपलब्ध हुने छ भने सो क्लिनिकबाट दिइदै आएको गर्भपतनको सेवा भने अहिले सुचालु नहुने भएको छ । कर्मचारी र श्रोत व्यवस्थापनका कारण गर्भपतन सेवा सञ्चालन गर्न कठिनाई रहेको इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बताए ।
पहिले जनस्वास्थ्य कार्यालयको संगठन संरचना भित्र रहेको क्लिनिकलाई आवश्यक जनस्वास्थ्यको संगठन संरचनाबाटै हटाइएको भएपनि कसैलाई जिम्मा नलगाउँदा क्लिनिक बन्द भएको थियो । क्लिनिकबाट गर्भवती जाँच, गर्भवति महिलालाई टिडिको खोप र आइरन चक्कि वितरण, जुकाको औषधि, पाठेघर खसेका महिलाहरुलाइ रिङ राख्ने, नियमीत खोप सेवा, सुरक्षित गर्भपतन र परिवार नियोजनको सेवा दिइदै आएको थियो ।
क्लिनिक बन्द भएपछि टिडी खोप नपाउँदा गर्भवती बढि प्रभावित भएका थिए । बजारमा त्यो खोप नपाइने भएकाले उनीहरू बढी प्रभावित भएका हुन् ।
स्वास्थ्य विभागका अनुसार मातृ शिशु क्लिनिक सञ्चालनको लागि दरवन्दी नछुटइएकाले देशैभरको सेवा बन्द हुने अवस्थामा छ । विभागले क्लिनिकका लागि चाहिदे दरवन्दी व्यवस्थापन गर्न स्वास्थ्य मन्त्रालयलाई अनुरोध गरेको जनाएको छ ।
प्रत्येक जिल्लामा मातृ शिशु क्लिनिक थिए भने २१ जिल्लाका २४ अस्पतालहरुमा संस्थागत क्लिनिक सञ्चालनमा थिए । संगठन संरचनामानै छुटेपछि मातृ स्वास्थ्य क्लिनिक र संस्थागत क्लिनिक सञ्चालनको अन्योल अझै कायम छ ।