झापा । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघले शुक्रबार धुलाबारीमा प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरलाई सम्मान तथा स्वागत गरेको छ ।

नेपालीको महान चाड दीपावली, छठलगायतका चाडपर्वहरुको अवसरमा आयोजित शुभकामना तथा सम्मान कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी रानाले महिलाहरुलाई व्यावसायिक र आत्मनिर्भर बन्न आग्रह गरेका थिए ।

उनलाई खादा र बुद्धको मूर्तिले महासंघकी अध्यक्ष माया गुरुङले सम्मान गरेकी थिइन् । उनले जिल्लामा शान्ति सुरक्षालाई सुव्यवस्थित गर्दै सुशासन कायमका लागि आफू अहोरात्र लाग्ने प्रतिवद्धता जाहेर गरेका थिए ।

कार्यक्रममा मेचीनगर नगरपालिकाकी उपप्रमुख मिना उप्रेतीले आदिवासी महिलाले समाजमा गरेको योगदानको चर्चा गर्दै अधिकारको खातिर लडिरहन महिलाहरुलाई आग्रह गरेकी थिइन् । नेपाल कम्यूनिष्ट पार्टीका प्रदेश नम्बर १ का सदस्य विष्णु प्रसाईले नेपालको संविधानले महिलाहरुको लागि दिएको अधिकार कार्यान्वयन गराउन महिलाहरुले संगठित भएर अघि बढ्नुपर्ने बताए ।

नेपाली कांग्रेसका जिल्ला सचिव प्रेम सम्वाहाम्फेले महिलाको क्षमता अभिवृद्धि गर्ने र उनीहरुलाई आत्मनिर्भर बनाउने काम महासंघले ध्यान दिनुपर्ने बताए । उनले कमल गाउँपालिकामा रहेको आदिवासी जनजाति रंगशालाको नाम कुनै अमुक व्यक्तिको नाममा सरकारले राख्न खोजेको भन्दै आलोचना गरेका थिए ।

कार्यक्रममा आदिवासी जनजाति जिल्ला महासंघका अध्यक्ष भरत श्रेष्ठले आफ्नो पहिचान स्थापित गराउनका लागि राज्यको हरेक निकायमा अझै पनि लडिरहनु पर्ने गुनासो गरेका थिए । आदिवासी जनजाति महिला महासंघकी सल्लाहकार गंगा श्रेष्ठले अन्य जातजातिका तुलनामा आदिवासी जनजाति महिलाहरु पछि परेको बताइन् ।

संस्थाकी अध्यक्ष माया गुरुङको अध्यक्षतामा सम्पन्न कार्यंक्रममा स्वागत मन्तव्य उपाध्यक्ष अग्नीमाया मेचेले गरेकी थिइन् भने सञ्चालन सहसचिव रामकुमारी राईले गरेकी थिइन् । अध्यक्ष गुरुङले प्रशासनमा काम लिएर आएका महिलाहरुलाई सरल र सहज किसिमले सेवा प्रदान गर्न प्रजिअ राना, जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख दिनेश मैनाली, सशस्त्र प्रहरी झापाका कार्यालय प्रमुख रेशमकुमार थक्सुसँग आग्रह गरेकी थिइन् ।

कार्यक्रममा ज्येष्ठ नागरिक मञ्च मेचीनगरका अध्यक्ष अंगतबहादुर थापा, तमु छोंज धि गुरुङका अध्यक्ष धनकुमार गुरुङ, मुश्लिम संघ झापाका अध्यक्ष अमिन शेख अलीलगायतको उपस्थिति रहेको थियो ।