हेटौँडा । आफूले मन पराएकी युवतीले प्रेम प्रस्ताव अस्वीकार गरेपछि एसिड छ्यापेर फरार भएका एक भारतीय नागरिक ६ बर्षपछि पक्राउ परेका छन् । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको निर्देशनमा बारा जिल्ला प्रहरीले भारत महाराजागंज अमरपुर्वन वडा नं ६ बस्ने राज भनिने दिलिप केसरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

पक्राउ परेका दिलिपराजलाई बारा प्रहरीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय मकवानपुर पठाएको हो । मकवानपुरका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईका अनुसार उनलाई जीतपुर सिमरा उपमहानगरपालिका वडा न २३ भलोहीबाट पक्राउ गरिएको हो ।

२०७० साल बैशाख ९ गते हेटौँडा उपमहानगरपालिका वडा नं ३ बस्ने २० बर्षीया युवती बिन्दबासिनी कंशाकारलाई तेजाव छ्यापेर दिलिपराज फरार भएका थिए ।

फरार भए पनि उनी नेपाल आउने जाने गरिरहेको सुराकीको आधार प्रहरीले पक्राउ गरेको हो । बिन्दबासिनीको न्यायका लागि परिवारजन र नागरिक समाजले समेत प्रहरीलाई पटक पटक दबाब दिँदै आएका थिए । दिलिपराजलाई मुलुकी ऐनको ज्यानसम्बन्धी महल बमोजिम मुद्दा दायर हुनेछ । उक्त महलमा ५ बर्षदेखि १२ बर्षसम्म कैद सजायको व्यवस्था छ ।