अर्जुन राजवंशी,
बिर्तामोड । झापा गाउँपालिका ५ पन्तापाराका गुप्तेश्वर मण्डलले अढाई बिघा जग्गामा विभिन्न बाली लगाएका छन् । खेतीसम्म जान उनलाई घर नजिकैको बिरिङ नदी तर्नुपर्छ । नदी तर्न उनले वार्षिक दुई हजार रुपैयाँ ठेक्का तिर्नुपर्छ । (फाइल तस्वीर)

पन्तापारा गाउँकै कौशल मण्डल कक्षा ७ मा अध्ययनरत छन् । छिमेकी बाह्रदशी गाउँपालिकास्थित राजगढ बजारमा रहेको स्कुल जान उनले पनि बिरिङ नदी तर्नुपर्छ । दैनिक स्कुल जानुपर्ने भएकाले नदी वारपार गरेबापत उनका अभिभावकले वार्षिक १५ सय रुपैयाँ तिरिरहेका छन् ।

मण्डलजस्तै पन्तापारा गाउँका ५० भन्दा बढी घरपरिवारले बिरिङ नदी तर्न स्थानीय शिवनारायण यादवलाई वार्षिक हजारौं रुपैयाँ ठेक्का तिर्दै आएका छन् । यादवले हिउँदको समयमा नदीमा बाँसको पुल र बर्खामा डुंगा सञ्चालन गर्छन् । बाह्रदशी र झापा गाउँपालिकाका स्थानीय वर्षौंदेखि नदीमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

चार वर्षमा निर्माण सक्नुपर्ने पुल ८ वर्ष भइसक्दासमेत बनेको छैन । कैयौं पटकको पहलपछि पुल निर्माणको काम अघि बढे पनि ठेकेदार कम्पनीले ढिलाइ गरिरहेको छ । पटकपटक म्याद थप्दासमेत ठेकेदार कम्पनीले काममा तीव्रता दिएको छैन ।

हुलाकी सडकअन्तर्गत पर्ने पुल निर्माणको ठेक्का लामा-मैनाचुली जेभीले पाएको छ । पुल निर्माणका लागि ०६८ असार १३ मा ठेक्का सम्झौता भएको थियो । पछिल्लो म्याद थपअनुसार ०७७ असार १० भित्र पुल निर्माण सकिनुपर्ने हो । ३ सय १८ मिटर लम्बाइ र ९ दशमलव ८ मिटर चौडाइको पुल निर्माणका लागि ठेकेदार कम्पनीसँग १५ करोड ५० लाख ५८ हजार ६ सय रुपैयाँमा सम्झौता भएको छ । कान्तिपुरबाट