पर्वत पोर्तेल,
काँकडभिट्टा । बुद्धशान्ति गाउँपालिका-४ का १८ वर्षीय अभिनाश राई भोजपुरबाट पाहुना आएका ३५ वर्षीय मामा मनिराम राईसँग शुक्रबार राति नजिकैको खेतमा जमेको पानीमा माछा मार्न गए । स्थानीय नवज्योति सामुदायिक वन समूह नजिकै हात्ती आतंक रोक्न विद्युतीय धराप ९नाङ्गो तार० थापिएको थियो । त्यही धरापमा परेर दुवैको ज्यान गयो । स्थानीयले बिहान मात्र उनीहरूको शव देखे ।

मेचीनगर-९ माथिल्लो मागुरमाडीका गंगा थपलियाले हात्तीबाट हुने बालीको क्षति रोक्न घर पछाडिको बारीमा विद्युतीय तारबार गरेका थिए । हात्तीलाई थापेको विद्युतीय धरापमा गत साउन ३१ मा उनी आफैं परे । ६० वर्षीय थपलियाको घटनास्थलमै मृत्यु भयो ।

हात्तीबाट हैरान किसानले खेतीबाली जोगाउन टाँगेको नाङ्गो तार आत्मघाती बनेको छ । तर स्थानीयले आफूखुसी विद्युतीय धराप थाप्ने र त्यसमा मान्छे पर्ने क्रम रोकिएको छैन । यसरी धराप थाप्नु गैरकानुनी हो । जिल्ला प्रहरी कार्यालयका अनुसार हात्तीका लागि थापिएको धरापमा परेर ०७५ र ०७४ सालमा दुई-दुई र ०७२ मा एक जनाको ज्यान गएको थियो ।

जंगली हात्तीको सधैंको सास्तीबाट हैरान अर्जुनधारा-४ दहीझोडाका भक्तबहादुर शेर्माले घर वरिपरि विद्युतीय तारबार लगाएका थिए । तर हात्तीलाई थापेको धरापमा आफ्नै श्रीमती पर्लिन् भनेर सोचेका पनि थिएनन् । गत वर्ष कात्तिक ९ मा धरापमा परेर शेर्माकी श्रीमती २५ वर्षीया अनु लिम्बूको ज्यान गयो । यस्तै, ०७५ भदौ ६ मा हात्तीलाई थापेको धरापमा परेर मेचीनगर-३ धरधरेका ५८ वर्षीय डिल्ली गहतराजले ज्यान गुमाए । भद्रपुर-१० का ७१ वर्षीय डम्बर लिम्बूले हात्तीलाई धराप थापेका थिए । तर ०७४ असोज ९ मा उनको पनि धरापमा परेर मृत्यु भयो ।

स्थानीय बासिन्दाले हात्ती रोक्ने बहानामा आफूखुसी बिजुलीको नाङ्गो तार राख्दा दुर्घटना बढेको वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले बताए । कानुनअनुसार हात्ती नियन्त्रणको नाममा तारमा करेन्ट प्रवाह गर्ने अधिकार कसैलाई नरहेको उनको भनाइ छ । आफूखुसी नाङ्गो तार नराख्न सामुदायिक वन र आसपास क्षेत्रका बासिन्दालाई जानकारी गराइसकिएको उनले जानकारी दिए ।

हात्तीको धरापमा परेर यो वर्ष मात्र तीन जनाले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालयको तथ्यांक छ । धरापमा परेर ०७५ र ०७४ मा दुई-दुई र ०७२ मा एक जनाको ज्यान गएको छ । भारतबाट आउने र रैथाने हात्तीको दोहोरो त्रासमा स्थानीय छन् । खासगरी उत्तरी झापाको बाहुनडाँगी, बुद्धशान्ति, अर्जुनधाराको खुदुनाबारी र दक्षिण झापाको भद्रपुर क्षेत्रमा वर्षौंदेखि हात्तीको आतंक छ ।

लामो समयदेखिको मानव–हात्ती द्वन्द्वमा मान्छे र हात्ती दुवैको क्षति भएको छ । ९ वर्षयता ३९ जना मानिस र ११ हात्तीको मृत्यु भएको कान्तिपुर दैनिकमा समाचार छ ।