अर्जुनधारा । दुवै मिर्गौला खराब भएका झापा अर्जुनधारा नगरपालिका वडा नं ११ सालवारीका दिलबहादुर राईले सहयोगको अपिल गरेका छन् । चार कठ्ठा जग्गामध्ये आफ्नो उपचार गराउने क्रममा अहिले १३ धुर मात्र रहेकोले उनले सहयोगको याचना गरेका हुन् ।

४६ वर्षीय राईका श्रीमती र एक छोरा छन् । २०७२ जेठमा नोवेल हस्पिटल विराटनगरमा परिक्षण गर्दा दुवै मिर्गौला खराब भएको चिकित्सकले बताएका थिए । उनी अहिले झापा बिर्तामोडको विर्तासिटी हस्पिटलमा डाइलोसिस गराउँदै आएका छन् ।

आर्थिक अवस्था एकदमै कमजोर भएका राईको ३ वर्षअघि पेटको आन्द्रा बटारिएर बिर्तामोडको विर्तासिटी हस्पिटलमा शल्यक्रिया गरेको बताए । ‘अहिले पनि खाना वढि खायो भने पेट दुख्छ’, राईले भने । उनको आँखा पनि कमजोर भएको बताए ।

काठमाडौंको भक्तपुरमा रहेको मिर्गौला प्रत्यारोपण हस्पिटलले ३० देखि ३५ लाख खर्च लाग्ने बताएको उनले सुनाए । उनले आफ्नो जीवन बचाईदिन सवैमा अनुरोध गरेका छन् ।