बाहुनडाँगी । मेचीनगर-१ मा स्थानीयबासीले स्वास्थ्य चौकी निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराएका छन् । स्थानीय युवराज पोखरेलले ५ तथा दानबहादुर पोखरेल र धनबहादुर राईले १-१ कठ्ठा गरी करिब २८ लाख रुपैयाँ मुल्य बराबरको ७ कठ्ठा जग्गा नगरपालिकालाई निःशुल्क उपलब्ध गराएका हुन् । उक्त जग्गा नगरपालिकाको नाममा हस्तान्तरण भइसकेको छ ।

उक्त जग्गामा हाल विभिन्न जातका बोटविरुवा लगाइएको छ । ग्रामीण क्षेत्रका मानिस स्वास्थ्य सेवाबाट बञ्चित नहून् भनेर आफ्नै घर आँगनमा स्वास्थ्य केन्द्र निर्माण होस् भन्ने उद्देश्यले जग्गा नगरपालिकालाई प्रदान गरेको दाता युवराज पोखरेलले बताए । उनले सुविधा सम्पन्न स्वास्थ्य केन्द्र निर्माणका लागि नगरपालिकासँग आग्रह समेत गरे ।

जग्गाको १ नम्बर प्रदेश सभा सदस्य श्रीप्रसाद मैनाली, मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेतीले १ नम्बर वडाध्यक्ष पासाङ तामाङलगायत स्थानीय दल, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख प्रतिनिधिहरुले स्थलगत अवलोकन गरेका थिए ।

स्थलगत अवलोकनका क्रममा त्यस क्षेत्रमा स्वास्थ्य केन्द्रको आवश्यकता महसुस गरिएको र दाताहरुले जग्गा उपलब्ध गराएका कारण तत्काल सुविधा सम्पन्न स्वास्थ्य केन्द्र निर्माण हुने १ नम्बर प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीले बताए । उनले भवन निर्माणका लागि प्रदेश तथा संघीय सरकारमा समेत आफूले पहल गर्ने विश्वास दिलाए । एकै पटक नभए पनि क्रमिकरुपमा सुविधा सम्पन्न स्वास्थ्य केन्द्र बन्नेमा ढुक्क हुन स्थानीयबासीलाई उनले आग्रह गरे ।

सरकारले भवन निर्माणका लागि २४ लाख रुपैयाँमा ठेक्का लगाएको र बाँकी पूर्वाधारका लागि मेचीनगर नगरपालिकाले लगानी गर्ने तथा साविक बाहुनडाँगीबासी हाल मेचीनगर नगरपालिकाको १, २, ३ र ४ नम्बर वडाबासीलाई सहजरुपमा स्वास्थ्य सेवा दिने लक्ष्य रहेको नगरप्रमुख विमल आचार्यले बताए ।

वरिपरि कम्पाउण्डसहित आवश्यक पूर्वाधार निर्माणमा नगरपालिका लाग्ने उनको भनाइ छ । स्वास्थ्य, शिक्षा एउटा नागरिकको नैसर्गिक अधिकार भएकाले यसबाट वञ्चित हुनु हुदैन भन्ने नगरपालिकाको चाहना रहेको प्रमुख आचार्यको भनाइ छ ।

उपप्रमुख मीना पोखरेल उप्रेतीका अनुसार एम्बुलेन्ससहितको सेवा दिने सोचका साथ नगरपालिका लागेको र प्रसुति सेवाको सुविधा समेत प्रदान गरिनेछ । उनका अनुसार करिब डेढ करोड रुपैयाँको लागतमा सो स्वास्थ्य केन्द्र निर्माण हुनेछ ।