अर्जुनधारा । झापाको दहिझोडा सामुदायिक वन उपभोक्ता समुहले अर्जुनधारा नगरपालिका-५ का तीन परिवारलाई घर निर्माण गरी चावी हस्तान्तरण गरेको छ । वनको हरियाली महिला वचत तथा ऋण परिचालन समुहको गरिवी न्यूनीकरण कार्यक्रम अन्तर्गत अनुदानमा निर्माण गरिएको घर सोमबार हस्तान्तरण गरेको हो ।

गरीव तथा विपन्न परिवारका दिनेश काफ्ले, कृष्णमाया सार्की र लत्ता दनुवारलाई कार्यक्रमका प्रमुख अतिथि तथा अर्जुनधारा नगर प्रमुख हरिकुमार रानाले घरको चावी हस्तान्तरण गरेका हुन् । घर निर्माण गर्न नसेका ती परिवारलाई वनले सोमबार अर्जुनधारा–४ स्थित सिंहवाहिनी मन्दिरमा एक कार्यक्रमको आयोजना गरी घर हस्तान्तरण गरेको हो ।

वनका अध्यक्ष खगेन्द्र सुब्बाको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि डिभिजन वन कार्यालयका प्रमुख विष्णुराम घिमिरे रहेका थिए । स्वागत वनका उपाध्यक्ष रामप्रसाद गिरीले गरेको कार्यक्रममा जिल्ला वन महासंघका अध्यक्ष देवप्रकाश भण्डारी, वडा नं ४ का अध्यक्ष दुर्गाप्रसाद दाहाल, युवा संघ नेपाल प्रदेश कमिटी सदस्य खगेन्द्र खनाललगायतको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन वनकी सचिव निरामाया तामाङले गरेकी थिइन् ।