अर्जुनधारा । महिला, आदिवासी, दलित तथा जोखिममा रहेका समुदायको अधिकारमाथि पहुँच पुर्याउने र निर्णायक प्रक्रियामा अभिवृद्धि गर्ने उद्देश्यले अर्जुनधारामा नगरस्तरीय मानवअधिकार समूह गठन भएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश नम्बर १ कार्यालय बिराटनगरको आयोजनामा भएको भेलाले नगर क्षेत्रका सबै वडालाई समेटेर मानवअधिकार समूह गठन गरेको हो । स्थानीयहरुको बृहत उपस्थितिमा भएको कार्यक्रममा अधिकारलाई स्थापित गराउनका लागि १७ सदस्यीय कार्य समिति निर्माण भएको छ । समितिको अध्यक्षमा चन्द्र सुवेदी रहेका छन् ।

नवगठित समूहको उपाध्यक्षमा रीना मगर, सचिव विष्णु आचार्य, सहसचिव सुभद्रा गेलाल, कोषाध्यक्षमा सीता कँडेल चयन भएका छन् । समूहको सदस्यहरुमा राज खम्बू, सीता भारती, विष्णु प्रसाई, जीना लिम्बू, राजकुमार लोहार, एकदेव खनाल, मुना भट्टराई, अशोक बान्तवा राई, झुमा घिमिरे, पशुपति घिमिरे, सुशिला गिरी र अनारुल मोहम्मद रहेका छन् ।

नवगठित समितिलाई उद्घाटन समयमा प्रमुख अतिथि तथा नगर प्रमुख हरिकुमार रानाले अधिकार स्थापित गराउन र न्यायोचित भावना पैदा गर्न यस्ता संस्थाले खेलेको भूमिका अहम् हुने बताउँदै नगरलाई मानवअधिकारवादीबाट टेवा पुर्याउन मद्दत पुग्ने छ भन्ने विश्वास लिएको बताए ।

प्रमुख रानाले जनताको लागि गाँस, बास, कपास मात्र होइन औषधि उपचारको लागि पनि नगर सक्रिय रहेको बताउँदै स्थानीय सरकारले गर्नुपर्ने काममा निगरानी राख्न यस्ता खाले संस्थाको आवश्यकता भएको हुनाले नगर समृद्ध हुनमा मानवअधिकारको पनि ठूलो हात हुने बताए ।

कार्यक्रममा अर्जुनधारा प्रेस क्लबका अध्यक्ष कुमार भट्टराईले निष्पक्षताले मात्र न्यायको ढोका खोल्ने भएको हुँदा अध्ययनशील र चिन्तन गर्न सक्ने समिति बनोस् भनी शुभकामना दिएका थिए ।

अर्का वक्ता वडाध्यक्षहरुको प्रतिनिधित्व गर्दै ५ का अध्यक्ष ध्यानबहादुर भारतीले मानवअधिकारवादी संस्था अर्जुनधारामा समेत निर्माण भएकोमा खुशी व्यक्त गर्दै आइपरेका समस्यालाई समाधान गर्न सकोस् भनी शुभकामना दिएका थिए ।

कार्यक्रममा नगरका बोर्ड सदस्य दिलमाया दासले अनगिन्ती देखिने हिंसा आफैमा अपराध हो त्यसलाई अन्त्य गर्नका लागि जन्मदै गरेको नयाँ समितिलाई शुभकामना दिँदै दलितमा भएका भेदभावमाथि निगरानी जान यस्ता खाले संस्थाको ध्यान जरुरी रहेको बताइन् ।

इन्सेक प्रदेश १ का संयोजक सोमराज थापाको सभापतित्वमा भएको कार्यक्रममा वडा नं ८ का अध्यक्ष गोपीचन्द्र गौतम, वडा नं ७ का प्रतिनिधिद्वय देवकुमार राई, सन्तोष नेम्वाङ, वडा नं १ का वडा सदस्य भद्रिका विश्वकर्मा, दिलबहादुर सारु, तुलसा पोखरेल, मेलमिलाप समिति वडा नं १ का सन्तबहादुर गोले, विष्णु चम्लगाई, कमला आचार्य, उद्यमशील महिला संघकी निवर्तमान अध्यक्ष सरु बुढाथोकी, वडा नं ८ का सदस्य सुशिला सुवेदी, सेवन्त ढकाल, शिक्षा शाखाका प्रतिनिधि जानुका गुरागाई, कृषि शाखाकी उर्मिला राजवंशी, पशुपंक्षी मत्स्य तथा कछुवा विकास शाखाका बेनुप बस्नेत, श्रद्धा कृषि सहकारीका छविलाल शिवाकोटी, समाजसेवी चतुर्भुज काफ्ले, ज्येष्ठ नागरिक मिलन समाजका पूर्वअध्यक्ष गणेशप्रसाद प्रसाई, क्यूपेक नेपाल अर्जुनधाराका धनकुमार राई, काउन अर्जुनधाराका अशोक राई, महिला नेतृ कुसुम राई, देवकला प्रसाई, राई पत्रकार संघकी केन्द्रीय सदस्य लीला राई लगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रममा इन्सेकद्वारा सञ्चालित मानवअधिकार परियोजनाबारे संयोजक बगमती कट्टेलले प्रस्ट्याएकी थिइन् । इन्सेक झापा प्रतिनिधि नरेश खातीद्वारा स्वागत गरिएको कार्यक्रमको सञ्चालन भने सहजकर्ता राजन राईले गरेका थिए ।