अर्जुनधारा । अर्जुनधारा नगरपालिकाको आयोजना र नयाँ श्रीनाथ गण चारआलीको प्राविद्यिक सहयोगमा तीन दिवसीय सामुदायिक विपद् प्रतिकार्य तालिम सोमबारदेखि शुरु भएको छ ।

जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि र सञ्चारकर्मीहरुलाई लक्षित गरी सञ्चालन गरिएको उक्त तालिममा विपद्को परिचय, उद्धेश्य, विपद्को वर्गीकरण, विपद् उद्धार कार्यमा नेपाली सेनाको भूमिका र क्षमता, बाढी पहिरो, विपदमा गरिने प्राथमिक उपचार, आगो र डढेलो नियन्त्रण, भूकम्पलगायतका विषयमा जानकारी दिइने सहजकर्ता सहसेनानी सुरज कटुवालले जानकारी दिए ।

उनका अनुसार विपद् उद्दार कार्यमा नेपाली सेनाको भूमिका, रोप रेस्क्यू तथा इम्प्रोभाइज स्वीमि एड र नट ब्याड हिचेजको परिचयजस्ता विषयमा जानकारी दिइनेछ ।

दुई दिन सैद्धान्तिक विषयमा जानकारी गराइने तालिमको अन्तिम दिन प्रदर्शनी कार्यक्रम रहेको बताइएको छ । नगर प्रमुख हरिकुमार रानाको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन वरिष्ठ कार्यक्रम तथा योजना अधिकृत हिमराज सेढाईंले गरेका थिए ।