झापा । झापाको गौरीगञ्जमा लागुऔषध गाँजा कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ परेका छन् ।

गाँजासहित पक्राउ पर्नेमा गौरीगञ्ज गाउँपालिका ४ बस्ने ६० वर्षीय बुद्धलाल राजवंशी र सोही गाउँपालिका ३ बस्ने ५७ वर्षीय देव नारायण महतो रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय गौरीगञ्जको संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा उनीहरूलाई घरबाटै पक्राउ गरेको हो । प्रहरीले राजवंशी सुत्ने कोठाबाट २ किलो १२५ ग्राम गाँजा (हर्लिक्सको बट्टामा, प्लास्टिकमा, स्टिलको कमण्डलु) मा राखेको र नगद ६ सय रुपैयाँ बरामद भएको थियो ।

त्यस्तै महतोको कोठाबाट नाइलनको झोलाभित्र ५०० ग्राम गाँजा कागजमा ५८ थान पोका बनाई राखेको, दुई कालो प्लास्टिकको पोकामा राखेको र नगद एक हजार ३ सय ५० रुपैयाँ बरामद गरिएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए । गाँजासहित पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाही र अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गौरीगञ्जमा राखिएको प्रहरीले जनाएको छ।