काँकरभिट्टा । मेचीनगर नगरपालिकाले सुत्केरी पोषण भत्ताअन्तर्गत १० महिनामा ३ लाख १६ हजार रुपैयाँ वितरण गरेको छ । सुत्केरी पोषण भत्ता वितरण कार्यविधि २०७५ बमोजिम गएको माघ ६ गतेदेखि नगरपालिकाले सुत्केरी पोषण भत्ता वितरण गदैं आएको छ ।

यसअन्तर्गत अहिलेसम्म १५८ जना सुत्केरीलाई जनही २ हजार रुपैयाँका दरले ३ लाख १६ हजार रुपैयाँ वितरण गरिएको नगरपालिकाकी उपप्रमुख तथा सुत्केरी पोषण भत्ता वितरण कार्यक्रम संयोजक मीना पोखरेल उप्रेतीले जानकारी दिइन् । उनका अनुसार दुई जना सन्तानाका लागि मात्र यो सुविधा उपलब्ध गराउने गरिएको हो । नगरपालिकाले उक्त रकम स्वयम् घरमै पुगेर प्रदान गर्ने गरेको छ ।

यो सुविधा लिन अनिवार्य अस्पतालमा गएर सुरक्षित सुत्केरी गराउनु पर्ने प्रवधान छ । घरमै सुत्केरी भएकाले यो सुविधा नपाउने उपप्रमुख उप्रेतीको भनाइ छ । मातृ तथा नवजात शिशुको मृत्युदरमा कमी ल्याउने उद्देश्यले नगरपालिकाले नगरभित्रका अति विपन्न समुदायलाई रकम उपलब्ध गराउँदै आएको कार्यालयकी महिला विकास निरीक्षक जयन्ती खरेल लम्सालले जानकारी दिइन् ।

नगरपालिकाको दोस्रो नगरसभाको स्वास्थ्य तथा जनसंख्यासम्बन्धी नीतिमा गुणस्तरीय स्वास्थ्य सेवाका लागि आधारभूत सेवा मातृशिशु, परिवार स्वास्थ्य पोषण, बहिरंग सेवा, स्वास्थ्य शिक्षालाई प्राथमिकताका साथ अगाडि बढाउने उल्लेख छ ।

यसै अन्तर्गत विपन्न वर्गका मेचीनगरबासीको पहिचान गरी कार्यविधि निर्माण गरी सो को आधारमा स्वास्थ्य उपचारमा क्रमशः क्यान्सर, मुटुको शल्यक्रिया, मिर्गौला परिवर्तनजस्ता रोगको उपचारमा नगरपालिकाबाट प्रतिवर्ष प्रतिव्यक्ति अधिकतम ५ हजार रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउदै आएको उपप्रमुख उप्रेतीले बताइन् ।