खुदुनाबारी । अर्जुनधारा २ स्थित शान्ति सामुदायिक वन उपभोक्ता समूहका कोषाध्यक्ष खगेन्द्र कोइरालाको घरबाट साखु जातको बटम (चिरान काठ) चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

घर धनी कोइरालाले इलाका प्रहरी कार्यालय अनारमनीमा दिएको उजुरीको आधारमा प्रहरीले स्थानीय २१ वर्षीय विपिन लिम्बूलाई पक्राउ गरेको हो । चोरी कार्यमा संलग्न मुसे भनिने अर्का आरोपी २१ वर्षीय अर्जुन दर्जी फरार रहेको कार्यालयका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक मोहन थापाले जानकारी दिए ।

प्रमुख थापाका अनुसार गए राती १२ बजे कोइरालाको घरमुनि राखिएको बटम चोरी भएको र ११ वटा मध्ये पाँच वटा बटम फेला परेको बताइएको छ । घटनाको विषयमा थप अनुसन्धानसँगै फरार आरोपीको खोजी भइरहेको उनले बताए ।