0 Shares

झापा । निर्माणाधीन शनिश्चरे-खुदुनाबारी सडक खण्डको निर्माण कार्य सुचारु हुने भएको छ । निर्माणका लागि ठेक्का पाएको कम्पनीले भोलि (बिहीबार) देखि ठप्प रहेको निर्माण कार्य सुचारु गर्ने भएको हो ।

अर्जुनधारा नगरपालिकामा बुधबार बसेको सर्वपक्षीय बैठकबाट ठेकेदार कम्पनीले भोलिदेखि निर्माण कार्यलाई अघि बढाउने सहमति जनाएको हो । बैठकमा छ वटा निणर्य भएका छन् ।

ठेकेदार कम्पनी शेर्पा कन्ट्रक्सन प्रालिका फुर्तेम्बा शेर्पाले निर्माण सामग्री अभावका कारण सडक निर्माण कार्य प्रभावित भएको जनाएका थिए । निर्माण कार्यमा प्रयोग हुने सामग्रीको अभावका कारण समयमै निर्माण कार्य अघि बढाउन नसकिएको ठेकेदार शेर्पाको भनाइ थियो ।

निर्माण सामग्रीकै अभावका कारण सडक निर्माण रोकिएपछि बैठकमा नगरपालिकाले निर्माण सामग्री उपलब्ध गराउन सहजीकरण गर्ने निर्णय भएको छ । नगरपालिकाका मेयर हरिकुमार रानाका अनुसार निर्माण सामग्रीको सहजीकरणसँगै मेसिनरी औजारका लागि समन्वय गर्ने, निर्माणाधीन सडक खण्डमा रहेका विद्युत् पोल तत्काल हटाउने, ह्युमपाइप नगरपालिकाले उपलब्ध गराउने निर्णय भएको छ ।

बैठकमा नगरपालिकाका मेयर राना, प्रदेश सांसद बृख प्रधान, ७ नम्बर वडाका अध्यक्ष नविन ढुङ्गाना, ८ का गोपी गौतम, ६ का लोकनाथ गौतम, सिनियर डिभिजनल इन्जिनियर रमेशकुमार श्रेष्ठ, सिभिल अधिकृत सुरेशकुमार मण्डल लगायतको उपस्थिति रहेको थियो ।