विनोद सापकोटा,

झापा । झापामा प्रहरीलाई एकपछि अर्को सफल्ता मिल्दै आएको छ । सहायक मार्गबाट चोरी गर्दै भारत निकासीका लागि लैजाँदै गरेको दुई ट्रक गोरु बरामद भएको दुई दिन बित्न नपाउँदै ठुलो परिमाणको गोलिया काठ पनि प्रहरीले बरामद गरेको छ ।

कनकाई नगरपालिका वडा नम्बर ३ बाट मंगलबार बिहान गोरु बरामद गरेको प्रहरीले वुधबार दिउँसो ठुलो परिमाणको गोलिया बरामद गरेर तस्करको मनोबल गिराएको छ । प्रहरीले भनेको छ, ‘राज्य दोहन गर्नेसँग कुनै सम्झौता हुँदैन, झापामा प्रहरी २४ घण्टा अलर्ट छ ।’ सर्वसाधरणको जीउधनको सुरक्षासहित चोरी तस्करीमा सक्रियता बढाएपछि झापा प्रहरीलाई दिनहुँ सफलता मिल्न थालेको झापाका राजनीतिकर्मी अशोक बस्नेतले बताएका छन् ।

प्रहरीले बरामद गरेको दुई वटा ट्रकसहित गोरु मेची भन्सार कार्यालय बुझाएपछि त्यसको कारबाही प्रक्रिया अघि बढाएको भन्सार कार्यालय श्रोतले जनाएको छ । गाई-गोरुको तस्करी गर्ने गिरोह झापामा ठुलो समुहमा सक्रिय भए पनि प्रहरीले ठाउँ ठाउँमा गरेको अप्रेसनले सफलता पाएपछि निरास हुन थालेका छन् ।

जिल्लाको शिवसताक्षी नगरपालिका वडा नम्बर १० दोमुखाबाट इलाका प्रहरी कार्यालय झिलझिलेको प्रहरीको टोलीले बुधबार दिउँसो २०२.९१ क्यूफिट परिमाणको काँचो सखुवाको गोलिया बरामद गरेको हो । बरामद गरिएका काठ शिवसताक्षी नगरमा हालसम्मकै ठुलो परिमाणको हो । स्थानीयका अनुसार प्रहरीले उक्त गोलिया नाटकीय शैलीमा बरामद गरको थियो ।

दोमुखास्थित कनकाई नदीको पश्चिम तटीय क्षेत्रमा स्थानीयले एकाबिहानै बेवारिसे गोलिया देखेका थिए । तस्करले आक्रमण गर्ने डरले उक्त सूचना स्थानीयले कतै पनि चुहावट गरेका थिएनन् । तर, एक जना स्थानीयले प्रहरीलाई गोप्य सूचना दिए । दिउँसो १२ बजेसम्म पनि उक्त गोलिया त्यही रहेको र हेर्नेको एकपछि अर्को भिड थपिन थाल्यो । त्यही भिडमा एक जना सादा पोसाकका प्रहरी पनि थिए ।

सादा पोसाकका प्रहरीेले इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षका कोमल ठाकुरलाई घटनाको विस्तृत विवरण टिपाए । प्रहरी निरीक्षक ठाकुरले पनि जिल्ला प्रहरी कार्यालयका प्रमुखलाई बेवारिसे गोलियाको बारेमा जानकारी गराए । झापा प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिनेशराज मैनालीको डिजाइनमा घटनास्थलबाट सकेसम्म तस्कर पनि पक्राउ गर्ने गरी आदेश भयो । त्यसपछि सादा पोसाकमा प्रनि ठाकुर त्यसतर्फ दौडिए । प्रहरी त्यहाँ पुग्दा तस्करले उक्त गोलिया उठाउने चाँजो पाँजो मिलाउँदै थिए ।

प्रहरीले गोलिया फेला पारेको स्थानलाई चारैतिरबाट घेरा हाल्यो । प्रहरीले घेरा हालेको देख्नेबित्तिकै त्यहाँ रहेका केही मानिस भागे । प्रहरी पनि दौडियो, उनीहरुलाई पक्राउ गर्न । तर, तस्कर पक्रन भने सकेन । स्थानीयका अनुसार उक्त काठ तस्करले दक्षिण इलामको माई नगरपालिकाको वन क्षेत्रबाट ल्याएका हुन् ।

कनकाई नदीको पानीको वेगमा उक्त काठ तस्करले बगाएर ल्याएको हुनसक्ने स्थानीयले बताएका छन् । उक्त गोलिया निकासीका लागि झापाको ठुलै र पहँुचवाला गिरोहको संलग्नता रहेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । दिउँसै गोलिया चानचुने मानिसले तस्करी गर्ने योजना बनाउन नसक्ने प्रहरीको अनुमान छ ।

प्रहरीले १५ थान गोलिया बरामद गरेको हो । बरामद गरिएका काठमध्ये ४ वटा पुराना र ११ वटा काँचो गोलिया रहेको जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ । झापा प्रहरी प्रमुख मैनालीले बरामद गरिएको गोलियाको बजार मुल्य १२ लाख बराबरको रहेको बताए । बरामद काठ सेक्टर वन कार्यालय सुरुङ्गामा प्रहरीले बुझाएको छ ।