विराटनगर । नेपाल भ्रमण वर्ष २०२० मा प्रदेशभित्र पाँच लाख पर्यटक भित्र्याउने योजना सफल पार्न प्रदेश नं. १ सरकारले तयारी सुरु गरेको छ । त्यसका लागि प्रदेश नं. १ उद्योग, पर्यटन तथा वन वातावरणमन्त्री जगदीशप्रसाद कुशियतको संयोजकत्वमा ५१ सदस्यीय प्रदेशस्तरीय समिति निर्माण गरी काम अगाडि बढाइएको मन्त्रालयका सचिव सञ्जीवकुमार राईले जानकारी दिनुभयो ।

यसअघि सङ्घीय पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट यस प्रदेशमा नेपाल भ्रमण वर्ष २०२० सफल पार्न २१ सदस्यीय भ्रमण व्यवस्थापन समिति गठन गरी पठाइएको थियो तर स्थानीय आवश्यकताअनुसार त्यही समितिलाई विस्तार गरी ठूलो बनाएर काम सुरु गरिएको राईले बताउनुभयो । समितिको मातहतमा रहने गरी विभिन्न १२ वटा उपसमिति पनि गठन गरिएको छ ।

विभिन्न क्षेत्रसँग सम्बन्धित ती उपसमितिसँग भ्रमण वर्ष सफल पार्न गर्नुपर्ने कामको कार्ययोजना माग गरिएको छ । ती सबै उपसमितिको कार्ययोजना आएपछि सोहीअनुसार बजेट विनियोजन गरेर काम अगाडि बढाउने योजना मन्त्रालयको रहेको सचिव राईले बताउनुभयो ।

भ्रमण वर्ष सफल पार्न गठित मूल समारोह संयोजन उपसमितिले भ्रमण वर्षलाई लक्षित गरी आगामी जनवरी १ मा प्रदेश नं. १ को कुनै पर्यटकीय स्थलमा विशेष कार्यक्रमको आयोजना गर्ने र त्यसको उद्घाटन प्रदेश नं. १ मुख्यमन्त्री शेरधन राईले गर्ने तयारी भइरहेको छ ।

भ्रमण वर्षलाई नै लक्षित गरेर प्रदेश नं. १ सरकारले ‘टुरिजम मार्ट २०१९’ सफल रूपमा सम्पन्न गरिसकेको छ । प्रदेश नं. १ का सबै जिल्लाका पर्यटकीय गन्तव्यको पहिचान गरी पुस्तिका निर्माण गरिएको छ । त्यसबाहेक मन्त्रालयले पहिचान भएका पर्यटकीय स्थलसम्म पर्यटकको पहुँच कसरी पु¥याउने र स्थानीय क्षेत्रलाई पर्यटनमैत्री कसरी बनाउने भनेर पनि कार्यक्रम भइरहेको सोही मन्त्रालयका पर्यटन महाशाखाका अधिकृत डम्बरप्रसाद घिमिरले बताउनुभयो ।

भ्रमण वर्षसँगै पर्यटनसँग जोडिएका क्षेत्रमा पर्यटनमैत्री जनशक्ति उत्पादनका लागि पूर्वाधार निर्माणतर्फ प्रदेश सरकारको ध्यान केन्द्रित भएको अधिकृत घिमिरेको भनाइ छ । प्रदेश नं. १ को भूगोलमा सिङ्गै मुलुकको प्रतिनिधित्व गर्ने विविधता भए पनि आवश्यक सूचना, संरचना र पर्यटकमैत्री संस्कृतिको अभावमा यस क्षेत्रमा पर्यटक सङ्ख्या भने बढ्न नसकेको प्रदेश नं. १ प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलको धारणा छ ।

उहाँ भन्नुहुन्छ, यस प्रदेशका सहरमा ठूला होटल छन् तर होटलमा काम गर्ने कर्मचारी पर्यटकमैत्री छैनन् । पर्यटकले हत्तपत्त कोठा नै पाउँदैनन्, कोठा पाए पनि व्यवहार राम्रो पाउँदैनन्, उसले खाजेको स्थानीय परिकार पाउँदैनन्, यी सबैतर्फ हाम्रो ध्यान जानुपर्ने उहाँको भनाइ छ । नेपाल भ्रमण वर्षसँगै आगामी दिनमा प्रदेश नं. १ मा बढीभन्दा बढी पर्यटक भित्र्याउन प्रदेश सरकार, स्थानीय तह र स्थानीय समुदायसँग मिलेर काम गरिरहेको पनि प्रदेश योजना आयोगका उपाध्यक्ष प्याकुरेलले बताउनुभयो ।

यस प्रदेशको महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा रहेको कोसीटप्पुमा आवश्यक पूर्वाधार निर्माण गर्ने, सगरमाथा आधार शिविरदेखि कञ्चनजङ्घा क्षेत्रसम्म हिमालय पदमार्ग, साल्पा उपत्यकामा रहेको साल्पा पोखरी र सिलिचुङ्ग चुली रहेको क्षेत्रलाई प्राकृतिक र किराँतको धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्न मन्धुम–ट्रेल पदमार्ग निर्माण गर्ने योजना प्रदेश सरकारले अगाडि सारेको छ ।

जातीय सांस्कृतिक विविधतायुक्त प्रदेश भएकाले यस क्षेत्रमा पर्यटनको प्रचुर सम्भावना रहेको पर्यटन व्यवसायी बताउँछन् । यस प्रदेशमा धार्मिक र पर्यापर्यटनकोे धेरै राम्रो सम्भावना रहेको र त्यसबाहेक पछिल्लो समय शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा भएको विकासले पनि विदेशीलाई प्रदेश नं. १ ले आकर्षित गरिरहेको पर्यटन व्यवसायी भविशकुमार श्रेष्ठ बताउनुहुन्छ ।

आर्थिक वर्ष २०७५÷७६ मा प्रदेश १ मा करिब ५८ हजार विदेशी पर्यटकले भ्रमण गरेको प्रदेश १ उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले जनाएको छ तर यहाँ भित्रिएका विदेशी पर्यटकमध्ये ९३ प्रतिशत खुम्बु क्षेत्रमा र छ प्रतिशत जति मकालुवरुण राष्ट्रिय निकुञ्ज क्षेत्र तथा कञ्चनजङ्घा संरक्षण क्षेत्रमा मात्रै जाने गरेका छन् । गोरखापत्रबाट