अर्जुनधारा । अर्जुनधारा १ स्थित हलुवागढ सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा हस्पिटलबाट निस्कने फोहोर फालिएको छ । बिर्तामोडमा खुलेका केही हस्पिटलका फोहोर अनाधिकृतरुपमा अर्जुनधारा नगरपालिको वन क्षेत्रमा फालिएको हो ।

शुक्रबार बिहानको राति उक्त समूहको साविक ब्लक नम्बर २ र हाल वैज्ञानिक वन व्यवस्थापनअन्तर्गत ब्लक नम्बर ६ को सानो नेते खोला किनारको त्रिशुली भन्ने स्थानमा फोहोर फालिएको हो । फोहोर फ्याँक्ने जिम्मा पाएको ठेकेदारको लापरबाहीले त्यसरी फोहोर खोला किनारमा लगेर फालिएको हो ।

कालो प्लास्टिकमा पोको पारिएको ५० वटाभन्दा बढी पोकामा हस्पिटलबाट सिर्जित फोहोरजन्य सामग्रीसँगै औषधिका बोतल, सिरिञ्ज, रगत जाँच तथा सेम्पलका लागि लिइएको स–साना सिसाका बोतललगायत फोहोर फ्याँकिएको छ ।

फोहोरको डंगुरमा बिर्तामोडस्थित कनकाई माइ ड्रग हाउसको बिललगायत फोहोर पनि फेला परेको छ । रातिको समय पारेर ट्रिपरबाट उक्त फोहोर फालिएको हुनसक्ने वन समूहका अध्यक्ष चक्र तामाङले घटनास्थलमा बताए ।

फोहोर फ्याँक्ने समूहको खोजी गर्दा बिर्तामोडस्थित ग्लोबल हाइजेनक सेनिटेशनले बिर्तामोडका केही हस्पिटलको फोहोर फ्याँक्ने ठेक्का लिएको पत्ता लागेको अध्यक्ष तामाङले बताए । उनका अनुसार सेनिटेशनका सञ्चालक चुतर मल्लिकले दुई दिनअघि मात्र कनकाई र मनमोहन हस्पिटलबाट फोहोर संकलन गरेका स्वीकार गरेका छन् ।

आफ्ना कामदारबाट गल्ती भएको स्वीकार्दै मल्लिकले शनिबार बेलुकासम्म फोहोर उठाउने बताएको अध्यक्ष तामाङले जानकारी दिए पनि उनी फेरि सम्पर्कमा आउन सकेनन् । वन समूहले फोहोर फ्याँकिएको विषयमा आवश्यक कारबाही प्रक्रिया अघि बढाउने भएको छ ।