अर्जुनधारा । विएमएस नेपाल प्रालिले अर्जुनधारा नगरपालिका वडा नं. १ स्थित विरिङ खोलामा निर्माण गरिने ‘चेक ड्याम’को ‘डिपिआर’ तयार पारेको छ । नगरपालिको कार्यालयमा आइतबार प्रालिले सरोकारवाला सम्पूर्णलाई डिपिआरको नमूना प्रस्तुत गरेको थियो ।

१ सय ९५ मिटर लम्वाई रहने सो ड्यामको चौडाई २८ मिटर, उचाई जमिन माथि ४.५ र जमिनमुनि २.२ मिटर रहने प्रालिका सिभिल इन्जिनर पोषण ढुङ्गानाले जानकारी दिए । ड्याम निर्माण भएपछि किसानलाई सिंचाई गर्न समस्या नपर्ने इन्जिनर ढुंगानाको भनाइ छ । नगरको १, ४ र ७ नं. वडामा ड्याम निर्माणपछि खानेपानीको सुविधा पुर्याउने लक्ष्य नगरपालिकाले लिएको छ ।

ड्यामको अनुमानित लागत २३ करोड ५७ लाख ६७ हजार ८ सय १० रुपैयाँ रहेको छ । नगरकी उपमेयर कमला खतिवडा आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा नगरका प्रशासकीय अधिकृत पंकज भुर्तेलले आफ्नो भनाई प्रस्तुत गरेका थिए ।

यहाँ बन्ने चेक ड्याम लक्षित क्षेत्रमा प्रभावकारी देखिए नगरले आवश्यकता अनुसार अन्य स्थानमा पनि ड्याम निर्माण गर्नसक्ने प्रमुख प्रशासकीय अधिकारी भूर्तेलले बताए ।