विनोद सापकोटा,
झापा । झापाको शिवसताक्षी ११ स्थित सताक्षीधाम परिसरमा आयोजना हुने धार्मिक महोत्सव एवं १०८ कुण्डको कोटीहोम शुरु हुन अगावै ५३ लाख ३५ हजार संकलन भएको छ । यो रकम १०८ कुण्डका दाताले दान गरेका हुन् । धार्मिक महोत्वसका संरक्षक एवं गोलोक गोवद्र्धन गौशालका पिठाधीश आचार्य नन्दकिशोर भारद्धाजका अनुसार हालसम्म ८५ वटा कुण्डमा दिंवगत पितृको उद्दारका लागि दाता परिवारले नाम दर्ता गराइसकेका छन् ।

यसबाहेक शिवसताक्षी नगरपालिकाले १० लाख धार्मिक महोत्सव सञ्चालन सहयोगार्थ प्रदान गरेको छ । नगर प्रमुख चन्द्रकुमार शेर्माले शिवसताक्षी नगरपालिकाका स्थानीय सरकारसमेत आयोजकको हैसियतमा रहेर धार्मिक महोत्सव आयोजना गरेको बताउँदै नगरपालिकाका तर्फबाट नगद १० लाख रुपैयाँ सञ्चालन सहयोग प्रदान भएको बताए । अन्य स्थानीय तहहरुले पनि आ–आफ्नो निर्णयअनुसार सो धार्मिक महोत्सव तथा कोटीहोममा आर्थिक सहभागिता जनाउने उल्लेख गरेका छन् ।

एक नम्बर प्रदेशकै प्रमुख धार्मिक गन्तव्यका रुपमा परिचित सताक्षीधाम परिसरमा आयोजना हुन लागेको धार्मिक महोत्सव तथा १०८ कुण्डको कोटी हवनको बारेमा जानकारी दिने उद्देश्यले आइतबार आयोजना गरिएको पत्रकार सम्मेलनमा देश विदेशबाट आउने पाहुनाका लागि आवास (कुटी) निर्माण, खानेपानी, विद्युत् लगायतको भौतिक अस्थायी पूर्वाधारहरुको निर्माण सम्पन्न भएको आयोजक सताक्षी धार्मिक महोत्सव एवं कोटीहोम महायज्ञ मुल समारोह समितिले जनाएको छ ।

अतिथि पाहुनाको स्वागतका लागि झापा, मोरङ र सुनसरीका विभिन्न ठाउँमा ३० वटा स्वागत द्वार निर्माण भएको छ । धार्मिक महोत्सवको प्रचार प्रसारका लागि पोष्टर, पम्प्लेटिङ्ग, माइकिङ्ग, ठाउँ–ठाउँमा धार्मिक महोत्सव कोटीहोम र गौरक्षा लगायतका विषयमा जानकारीमुलक कार्यक्रमहरु सञ्चालन गरिएको प्रचार प्रसार उपसमितिले जनाएको छ ।

२७ कात्तिकदेखि ९ मंसिरसम्म सञ्चालन हुने १३ दिवसीय धार्मिक महोत्सव तथा १०८ कुण्डको कोटीहोम सफल बनाउन विषयगत २५ वटा उपसमिति गठन गरिएको छ । महोत्सव अवधिभर सताक्षीधाममा फ्रि वाइफाइको सुविधा रहने आयोजक समितिका सचिवालय सदस्य सचिव डिल्ली नेपालले जानकारी दिए ।

महोत्सवमा नेपाल, भारत, सिङ्गापुर, अमेरिका, जर्मन, मालदिभ्स, अफ्रिका, भुटान, वर्मा लगायतका देशबाट समेत हिन्दु धर्मावलम्बीहरु ठुलो संख्यामा सहभागी हुने आयोजक समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलले जानकारी दिए ।

अध्यक्ष पोर्तेलले नेपालका कम्तिमा ५ लाख र विदेशका २० हजार पर्यटक सताक्षीधामको धार्मिक महोत्सवको अवलोकन गर्ने बताए । त्यसका लागि शौचालय, पानी, आवास, खाद्यान्न, संचार, विद्युत्, सुरक्षा लगायतका आधारभूत आवश्यकताका पूर्वाधार निर्माण सम्पन्न भएको पोर्तेलले बताएका छन् ।

सताक्षीधाम घना जंगलबीचमा पर्ने भएकाले नेपाल प्रहरी, सशस्त्र प्रहरीको करिब १०० जनाको जनशक्ति २४सै घण्टा तैनाथ रहने आयोजक समितिका अध्यक्ष पोर्तेलले बताए । धार्मिक महोत्सवमा निसंकोच सहभागी हुन आयोजक समितिले देश विदेशका पर्यटकलाई अनुरोध गरेको छ ।

आयोजक समितिका अध्यक्ष पोर्तेलले भने, ‘देशी विदेशी पर्यटककोे सुरक्षा आयोजकले लिन्छ, बेइमानी गर्ने नियत कसैले राखेको भए यस्तो पवित्र कर्ममा आउने तानावुना छ भने आयोजकले सरी मात्र भन्छ सुरक्षाको दृष्टिले अन्य विकल्प हामीसँग हुन्नँ ।’
सर्वसाधारणको सुरक्षाका लागि आयोजकले कसैसँग सम्झौता नगर्ने बताएको छ । ड्रोन क्यामेरा र सिसी क्यामेराले महोत्सव परिसरको निगरानी राख्ने आयोजक समितिले जनाएको छ । महोत्सवमा आयोजकले १५० वटाभन्दा बढी स्टल राख्ने तयारी गरेको छ ।

धार्मिक महोत्सव भएकाले यो वर्ष मदिरा र माछा मासुको खरिद बिक्रीलाई आयोजकले प्रतिबन्ध लगाएको छ । कानुनले वर्जित गरेका खेलबाहेक अन्य खेल तमासा यो वर्षको धार्मिक महोत्सवमा देख्न र मनोरञ्जन लिन पाउने बताइएको ।

धार्मिक महोत्सवमा श्रीमद् देवी भागवत कथासमेत हुने पिठाधीश आचार्य नन्दकिशोर भारद्वाजले जानकारी दिए । नेपाल सरकारको पूर्वनिर्धारित ‘पर्यटन भ्रमण वर्ष २०२०’ मनाउने तयारी गरिरहेका बेला महाभारतकालिन इतिहाससँग जोडिएको धार्मिक तथा पर्यटकीयस्थल सतासीधाममा आयोजना हुने धार्मिक महोत्सवले सोको प्रचारमा टेवा पुर्याउने आयोजकले बताएको छ ।

धार्मिक महोत्सव सुरु हुनु अगावै भारतको पश्चिम बंगालबाट ठुलो संख्याका हिन्दु धर्मावलम्वी आएर सत्सङ सुरु गरेका छन् । नेपामा धेरै कोटीहोम भए । तर, गौ संरक्षणका लागि विश्वमै पहिलो पटक झापाको शिवसताक्षीमा कोटीहोम आयोजना भएको हो । भुटानबाट सताक्षीधाम आएकी पवित्रा कट्टेलले यो जीवनमा पहिलो पटक १०८ कुण्डको कोटीहोम देख्न पाएकोमा आफूलाई पुण्य मिलेको महसुस भएको बताइन् ।

सताक्षीधाममा ५ वर्षअघि स्थापित गोलोक गोवद्र्धन गौशालाले गाईको महत्व, आवश्यकता र शास्त्रीय गुणको बारेमा जनचेतना जगाउन धाम परिसरमा बर्सेनि गौकथा महोत्सवको आयोजना गर्दे आएको छ । यस पटक उक्त महोत्सवलाई वृहत र विश्वव्यापी बनाउन धार्मिक महोत्सवको नाम दिएर १०८ कुण्डको कोटीहोम पनि हुन लागेको हो । बर्सेनि धाम परिसरमा हुने यस्ता अनुष्ठानले शिवसताक्षी नगरको गरिमा उच्च भएको नगरका प्रमुख शेर्माले बताए ।

३ करोड रुपैयाँ लागत अनुमान गरिएको सो धार्मिक अनुष्ठानबाट बचेको भेटीले गोलोक गोवद्र्धन गौशाला बृद्ध र रोगी गाईको उपचारमा सहयोग र सताक्षीधाम परिसरको पूर्वाधार विकास गर्ने आयोजक समितिले लक्ष्य लिएको छ । महोत्सवको उद्घाटनका दिन १ नम्वर प्रदेशका मुख्यमन्त्री शेरधन राईलगायत करिब १३ मुलुकका हिन्दु धर्मका विद्वत् वर्गको सहभागिता हुने आयोजक समितिले जनाएको छ ।