विनोद सापकोटा,
झापा । झापाको सताक्षीधाममा दुई दिनपछि आयोजना हुने धार्मिक महोत्सवमा चाइनिज कुटी निर्माण गरिएको छ ।

हिन्दु धर्मका विदेशी गुरुहरुका लागि इलामको चुलाचुलीस्थित नेपाली सेनाको २१ नम्बर बाहिनी अड्डाले चाइनिज कुटी निर्माण गरेको हो । सताक्षीधाम धार्मिक महोत्सवमा विदेशबाट आउने पर्यटकका लागि पनि कुटी निर्माण गरिएको छ ।

नेपाली सेनाले चाइनिज टेन्ट (कुटी) १२ वटा र चाइनिज पाल ३ वटा गरी १५ वटा कुटी निर्माण गरेको छ । यो बाहेक जिल्लाका स्थानीय तहका लागि १५ वटा सम्पर्क कुटी निर्माण भएका छन् भने अन्य २५ वटा कुटी निर्माण भइसकेका छन् । नेपाली सेनाका एक प्राविधिकका अनुसार एउटा कुटीमा ८ जनासम्म अटाउन सकिन्छ । सताक्षी धार्मिक महोत्सवका संरक्षक आचार्य नन्दकिशोर भारद्धाजले पुज्य गुरुका शिष्यसहित एउटा कुटीमा मर्यादा मिलाएर ६ जनासम्म राखिने बताए ।

आल्मुनियमका फ्रेममा बाक्लो कपडा लगाएर लामखुट्टेसमेत पस्न नसक्ने गरी कुटी निर्माण भएका छन् । नेपाली सेनाका एक प्राविधिकले भने, ‘घाम र पानी पस्ने कुरै भएन ।’ विदेशी पर्यटकका लागि शौचालय र खानेपानीको राम्रो प्रवन्ध मिलाइएको आयोजक समितिले जनाएको छ ।

जंगलबीचमै सताक्षीधाम धार्मिक महोत्सव भएकाले आयोजकले पानीको ठुलो सामना गर्नुपरेको थियो । तर, सताक्षी नदीको पानी महोत्सवस्थलमा पाइपबाट ल्याइएपछि यो वर्ष ८७ वटा धाराबाट तीर्थालुले स्नान गर्न पाउनेछन् । यो पानी पिउनका लागि अयोग्य रहेको आयोजक समितिले जनाएको छ ।

धार्मिक महोत्सवमा यो वर्ष महाभारतकालिन इतिहाससँग जोडिएका धार्मिक स्थानको सर्किट भ्रमण, योग शिविर, झापाका स्थानीय तहमा उत्पादित वस्तुको प्रदर्शनी र खेल मनोरञ्जन महोत्सवको आकर्षण हुने आयोजक समितिले जनाएको छ ।

८७ धारा स्नान, कोटीहोम, श्रीमद् देवी भागवत कथा महायज्ञ, गंगा आरती, भजन कीर्तन प्रतियोगिता, विभिन्न जातजातिका सांस्कृतिक झाँकीको प्रदर्शन पनि महोत्सवको अर्को आकर्षण हुने आयोजक समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति झापाका अध्यक्ष सोम पोर्तेलले जानकारी दिए ।

राजनेता तथा धार्मिक विद्वत् वर्गका व्यक्तिको आर्शीवाचन, झापाका धार्मिक तथा पर्यटकीय क्षेत्रका श्रव्य दृष्य प्रदर्शन र महाभारत इतिहाससँग जोडिएका कथाको झाँकीले महोत्सवमा आउने तीर्थालुको ध्यान खिच्ने आयोजक समितिको दाबी छ ।

सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर आयोजकले महोत्सव परिषरमा सोमबारदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा विट खडा गरेको छ । यसबाहेक करिव ५०० को हाराहारीमा स्वयमंसेवक परिचालनसमेत गरिएको सुरक्षा तथा स्वयंसेवक परिचालन उपसमितिका संयोजक महेन्द्र भट्टराईले जानकारी दिए । सतासीधाम जेसीज, लायन्स क्लव अफ शिवसताक्षी, २५ वटाभन्दा बढी सहकारी संस्थाका पदाधिकारी महोत्सव परिषरमा स्वयंसेवकको रुपमा परिचालन हुनेछन् ।

महोत्सव परिषरमा सोमबार श्रीकृष्ण प्रणामी दूधे झिलझिले युवा परिषदले वृहत सरसफाइ गरेको छ । सोमबार दिउँसो महोत्सवमा ४१ वटा स्टल बुक भएको सताक्षीधाम धार्मिक महोत्सव तथा १०८ कुण्डीय कोटीहोम मुल आयोजक समारोह समितिको सचिवालयले जनाएको छ ।