झिलझिले । उपभोक्ताले मोबाइल सेवासमेत नपाएको झापाको सताक्षीधाममा पहिलो पटक मंगलबारदेखि इन्टरनेट सेवा पुगेको छ ।
शिवसताक्षी नगरपालिका र इन्टरनेट सेवा प्रदायक निजी कम्पनी युनिफाइड कम्युनिकेशन प्रालिको संयुक्त प्रयासमा धार्मिक तथा पर्यटकीय क्षेत्र सताक्षीधाममा पहिलोपटक इन्टरनेट सेवा विस्तार भएको हो ।

इन्टरनेशनल ब्यान्डविथ आवश्यकअनुसार कम्तिमा ५० देखि १०० एमविपिएस र लोकल ब्यान्डवीथ ८०० देखी १००० एमविपिएससम्मको क्षमता भएको कम्पनीका सञ्चालक विजय श्रेष्ठले जानकारी दिए ।

इन्टरनेट जडान भएपछि सतासीधाम क्षेत्र आउने तीर्थयात्रीमध्ये एकैपटक करिब १ हजार २५० जनाले प्रयोग गर्न सक्नेछन् । सताक्षी महोत्सवमा आउने तीर्थयात्रीको सहजतालाई ध्यानमा राखेर नगरले युनिफाइड कम्युनिकेशनको सहकार्यमा धाममा इन्टरनेट सेवा पुर्याएको नगर प्रमुख चन्द्रकुमार शेर्माले जानकारी दिए ।

कात्तिक २७ गते (भोलि) देखि मंसिर ९ गतेसम्म आयोजना हुने सताक्षी धार्मिक महोत्सवको पूर्व सन्ध्यामा इन्टरनेट सेवा जडान भएपछि महोत्सवमा आउने भारतीय र भुटानी भक्तजनहरुले समेत खुसी व्यक्त गरेका छन् । महोत्सव परिसरमा भारत र भुटानका हिन्दु धर्मावलम्वीको घुइँचो लागेको छ ।

महोत्सव परिसरमा ७ वटा हाइ रेन्जको आउट डोरको सिपी तथा रकेट ओम्नी डिभाइस जडान गरीएको नगरका आइटी अफिसर गणेश अधिकारीले बताए । विदेशी पाहुनाका लागि बनाइएको कुटीमा समेत इन्टरनेट सेवा पुर्याइएको आयोजक समितिले जनाएको छ ।

सताक्षीधाम धार्मिक महोत्सवको उद्घाटन १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले गर्ने आयोजक समितिका अध्यक्ष सोम पोर्तेलले जानकारी दिए । बिहान ९ बजे दोमुखास्थित कनकाई नदीमा स्नान गरी अर्जुनधारा जलेश्वरधामहुँदै पहिलोपटक योगी नरहरीनाथले आयोजनाको कोटीहोम क्षेत्रमा पुगेर झिलझिले सताक्षीधाम क्षेत्रको रमिते डाँडाबाट १२ बजे कलशसहितको शोभा यात्रा आयोजना गर्ने आयोजक समितिले जनाएको छ ।

कार्यक्रममा महामण्डलेश्वर अनन्त श्री विभुषित स्वामी विष्णु वल्लभानन्द महाराज लगायतका धर्म गुरुको उद्घाटन कार्यक्रममा सहभागिता रहने संरक्षक आचार्य नन्दकिशोर भारद्धाजले जानकारी दिए । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।