इलाम । प्रसिद्ध धार्मिकस्थल गजुरमुखीमा तीनदिने मेला भव्य लागेको छ । प्रत्येक वर्ष कार्तिक पुर्णीमाको दिन लाग्ने मेला यो वर्ष पनि तीन दिन लाग्ने गजुरमुखी बजार व्यवस्थापन समितिले जनाएको छ ।

गाउँपालिकाको बैठकअनुसार सोमबारदेखि मेला आयोजना गरिएको अध्यक्ष डम्बर कार्कीले बताए । गजुरमुखीमा परम्परागतरुपमा धार्मिक मेला संचालन हुँदै आएको छ । गजुरमुखीमा मंगलबार बिहानैदेखि भक्तजनहरुको भिड रहेको छ । यहाँ भाकल पूरा गर्न देशका विभिन्न तथा भारतबाट समेत धर्मावलम्वीहरु आउने गरेका छन् ।

गजुरमुखीमा आएर दर्शन गरेमा चिताएको पुग्ने विश्वास गरिन्छ । बोली नहुनेलाई बोली आउने, सन्तान नहुनेलाई सन्तान प्राप्ति हुने धार्मिक विश्वास रहेको छ । देउमाई खोलाको किनारमा रहेको प्रसिद्ध गजुरमुखी धाममा मेलाको अवसरमा मात्र नभएर १२ महिना धर्मावलम्बी आउने गरेका छन् ।

पाँच वर्षभित्रमा यस क्षेत्रमा विभिन्न पूर्वाधारका कार्यक्रम संचालन गरिने भएको छ । सिँढी निर्माण, ट्याक्सी पार्क र बजार नाली व्यवस्थापन लगायतका कामका लागि एक करोड खर्च भइसकेको जनाइएको छ ।

मेलामा यो पटक कानूुनत निषेध गरिएको जुवातास, डाइस संचालन नभएको बजार व्यवस्थापन समितिले जनाएको छ । मन्दिरमा भक्तजनले बोका, हाँस कुखुरा, परेवाको बली दिने गरेका छन् । मेलामा सुरक्षा प्रवन्ध समेत चुस्त पारिएको छ ।