अर्जुन राजवंशी,
दमक । कमल गाउँपालिका २ का इन्द्रप्रसाद दाहालले गत वर्ष ३ कट्ठामा ७५ मन आलु फलाएका थिए । १० मन राखेर ६५ मन बिक्री गरे । करिब ८ हजार रुपैयाँ खर्च कटाएर दाहालले आलु खेतीबाट २ महिनामा ५५ हजार रुपैयाँ खुद आम्दानी गरे ।

उत्पादन र आम्दानी राम्रो हुने भएपछि यो वर्ष कमल २, सुनारभालु गाउँमा आलु खेती गर्ने किसानको संख्या बढेको छ । समूह तथा व्यक्तिगत रूपमा किसानले खेती विस्तार गरिरहेका छन् । गाउँपालिका क्षेत्रमा गत वर्ष ३७ बिघामा आलु खेती गरिएको थियो । यो वर्ष विस्तार भएर ५० बिघा नाघेको स्थानीय आईपीएम कृषि सहकारी संस्थाका सहजकर्ता टंक कटेलले जानकारी दिए । गाउँपालिकामा ‘आलु पकेट’ कार्यक्रम सञ्चालित छ । जमिन र किसानको संख्या बढेकाले ‘पकेट’ बाट ‘ब्लक’ कार्यक्रम सञ्चालन गर्न किसानहरूले माग गरेका छन ।

सुनारभालु गाउँमा गत वर्ष ६० किसानले आलु खेती गरेका थिए । कटेलकाअनुसार यो वर्ष १५० किसानले आलु लगाएका छन् । उक्त गाउँका किसानले उत्पादन गरेको आलु स्थानीय बजारमै बिक्री हुने गरेको छ । क्याम्पा, केर्खा, दमक, धरमपुर, झिलझिले, बिर्तामोडलगायत क्षेत्रमा आलु खपत हुने गरेकाले किसान आलु खेतीतर्फ आकर्षित भएका हुन् । गाउँको माटो आलु खेतीका लागि उपयुक्त रहेको किसान बिष्णु अधिकारीले बताए ।

‘यो गाउँको माटो आलु खेतीलाई सुहाउँदिलो छ । एक कट्ठामा २५ देखि ३० मनसम्म आलु फल्छ’, उनले भने । आलु खेतीमा लागेका किसानलाई गाउँपालिका र सहकारीले विभिन्न शीर्षकमा अनुदान दिने गरेका छन । सहकारीले बुधबार ५० प्रतिशत अनुदानमा बीउ आलु वितरण गरेको छ ।

पहिलो चरणमा ५० जना किसानलाई मात्र बीउ आलु वितरण गर्न सकेको सहकारीका अध्यक्ष यामबहादुर राईले बताए । यो बर्ष अनुदानमा मात्र ८ सय बोरा आलु वितरण गर्ने लक्ष्य राखेको राईले बताए । किसानले कुप्रे सिन्धुली, लाल गुलाब, डिजिरे जातको आलु रोप्ने गरेका छन् ।

कमल गाउँपालिकामा उत्पादन हुने आलु रासायनिक मल तथा विषादीरहित हुने गरेको छ । गाउँपालिकाले २ वर्षदेखि विषादीरहित खेती कार्यक्रम सञ्चालन गरिरहेको छ । उक्त कार्यक्रम सुरु भएदेखि किसान आफैले उत्पादन गरेको ‘जैविक मल’ खेतीमा प्रयोग गर्छन । जैविक मल बनाउन नसक्ने किसानलाई आईपीएम सहकारीले व्यावसायिक रूपमा उत्पादन गर्दै आएको जैविक मल बिक्री वितरण गर्ने गरेको छ । जैविक मल प्रयोग गर्दा खेतीमा लाग्ने किराबाट बच्न सहकारीले जैविक ढुसिनाशक विषादी ९टाइकोडर्मा० पनि वितरण गर्ने गरेको छ ।

ढुसिनाशक विषादी पनि सहकारीले नै उत्पादन गर्दै आएको छ । सहकारीले जैविक विषादी उत्पादनका लागि बाली संरक्षण निर्देशनालय तथा साविकको जिल्ला कृषि विकास कार्यालयबाट १६ लाख मूल्यको ल्याबका सामान प्राप्त गरेको छ । ल्याबबाट एक हप्तामा २० केजी जैविक विषादी उत्पादन गर्ने गरेको अध्यक्ष राईले जानकारी दिए ।

एक प्याकेट विषादीले ५० केजी गोबरमा मिसाएर १ कटा जमिनमा प्रयोग गर्न मिल्ने उनले बताए । उक्त विषादी सहकारीले आफना सदस्य किसानलाई निस्शुल्क वितरण गर्दै आएको छ । कान्तिपुरबाट