सुनसरी । धरानमा चुनावी माहोल तातिएका बेला नेत्रविक्रम चन्द्र (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले व्यवसायी र जनप्रतिनिधिसँग जबरजस्ती चन्दा मागेका छन्। विप्लवका कार्यकर्ताले व्यपारी व्यवसायीसँग १५ देखि २० लाख रुपैयाँ तोकेर चन्दा माग गरेका पीडित व्यवसायीहरु बताउँछन्।

उनीहरूले लिखित पत्र पठाएर चन्दा मागेका छन्। धरानका एक व्यपारीले विपल्वका कार्यकर्ताले २० लाख रुपैयाँ चन्दा माग गरी पत्र पठाएकाले आफू केही दिनदेखि तनावमा रहेको बताएका छन्। उनले पटक पटक विप्लवका कार्यकर्ताहरुले फोन गरी तोकिएको रकम चन्दा दिन माग गरेको तर, आफुले ५ हजारभन्दा दिन नसक्ने बताउँदै गुनासो गरे।

उनीहरुले धरानका जनप्रतिनिधिहरुसंग समेत पत्र पठाएर चन्दा मागेका छन्। धरान १३ का वडाअध्यक्ष नेत्र काफ्ले विप्लवका कार्यकर्ताहरुले पत्र पठाएर आफूसंग चन्दा माग गरेको बताए। धरानका कतिपय व्यवसायीहरुलाई विप्लव कार्यकर्ताहरुले भेटेरै चन्दा माग्ने गरेका छन्। ठुलो रकम तोकेर चन्दा माग गरेपछि आफ्नो व्यवसय नै बन्द गर्ने अवस्थामा पुगेको अर्का व्यवसायीले बताए। सुरक्षा कारण भन्दै व्यवसायीहरुले पठाएको पत्र गोप्य राखेका छन्।

सुनसरी उद्योग बाणिज्य संघले व्यवसायीलाई धम्क्याएर मोटो रकम चन्दा माग्नु गलत भएको बताए। उनले चन्दा माग गर्ने र नदिए धम्की दिने कार्य तत्काल बन्द गर्न आग्रह गरेका छन्।

सुनसरीका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलले विप्लव कार्यकर्ताहरुका गतिविधि नियन्त्रण गर्दै ५० भन्दा बढि कार्यकर्ता पक्राउ गरी मुद्धा चलाइएको बताए। उनले विप्लवका गतिविधि नियन्त्रणका लागि चौबिसै घण्टा प्रहरी परिचालन गरिएको छ।