झापा । नेपाल-भारत सीमा अतिक्रमणको विवाद चलिरहेको बेला पूर्वको झापामा पनि ठूलो क्षेत्रफलमा सीमा अतिक्रमण भएको पाइएको छ । भारतसँग सीमा जोडिएको झापाको १ सय १८ किलोमिटर सीमा क्षेत्रमा १ हजार ७ सय हेक्टर नेपाली भू-भाग भारतले अतिक्रमण गरेको हो ।

भारतले अहिले ती विवादित सीमा क्षेत्र आफ्नो ‘गुगल म्याप’मा समेत समावेश गरिसकेको देखिन्छ । भारतले पूर्वको सिमाना झापाको मेचीनदीको विभिन्न ८ तटीय क्षेत्र, मेचीपारिको गाउँ, कचनकवलको पाठामारी, साबिक महेशपुर लगायत ठाउँहरुमा नेपाली भू-भाग मिचिएको स्थानीय तथा सीमाविद्हरुले बताएका छन् ।

कचनकवल गाउँपालिकाको पाठामारी क्षेत्रका करिब २० घर, मेचीपारिको सन्थालवस्तीको ७ घर, मेचीनगरस्थित भान्सा खोलाका ११ परिवार बसेको नेपाली भू(भाग २०५२ सालअघि नेपालमै थियो । तर, भारतीय प्रशासन, सुरक्षा फौज तथा भारतीय नागरिकले विभिन्न बहानामा नेपाली भू-भाग आफ्नो भएको दाबी गर्ने गरेको भद्रपुर-३, मेचीपारि गाउँका श्रीप्रसाद महतोले बताए ।

१०४ र १०५ नम्बर सीमा पिलरले घेरिएको गाउँलाई भारतले नेपाली बस्ती जोगाएर भी आकारले नेपाली भूमि कब्जामा लिइसकेको छ । २०२० सालमा अहिले भारतले कब्जामा लिइसकेको भू-भागबाट मेची नदी बगेको इतिहास छ । १०४ नम्बर पिलर नजिकै भारतको सन्थाल बस्ती छ । पहिला त्यो बस्ती नेपालमा थियो । नेपालको धनीपूर्जा भएका स्थानीय २० वर्षपछि भारतीय नागरिक भएको भारतीय नागरिक सम र्मुर्मु बताउँछन् ।

भारतमा ब्रिटिस शासन भएको बेला नेपाल भारत बीच भएको सुगौली सन्धि बमोजिम दुवै देशको सीमा जङ्गे पिलरले छुट्याइएको थियो । जङ्गे पिलरलाई सीमा पिलर मानेर सिमावर्ती आसपासका क्षेत्रमा बर्षौदेखि नेपाली बसोबास गर्दै आइरहेका थिए । पूर्वको सिमाना मेचीनदीको वहाव परिवर्तन र बाढीका कारण सीमा स्तम्भ बगाउँदा भारतले २०४३ सालतिर सीमा मिच्न सुरु गरेको पाइएको छ ।

२०५२ सालमा आफूले भोगचलन गर्दै आएको नेपाली भूमिको धनीपुर्जा बनाउन खोज्दा पूरै भूमि भारततर्फ परेपछि झापाबासी समस्या परेको प्राध्यापक तथा सीमाविद् चिन्तामणी दाहालले बताए ।

पटक पटक भारतीयले दादागिरी शैलीमा बर्षौंदेखि नेपाली भूमि कब्जा गरिरहँदा पनि स्थानीय प्रशासन र सरकारले खासै चासो नदिएकोमा सिमावर्ती क्षेत्रका नागरिकको गुनासो छ । नेपालतर्फ दशगजा क्षेत्रको सुरक्षा प्रभावकारी नभएकाले सीमामा भारतीयको दबदबा बर्षौंदेखि रहेको उनीहरुको भनाई छ ।