विनोद सापकोटा,
झापा । झापाको सताक्षीधाममा सञ्चालन भइरहेको सताक्षीधाम धार्मिक महोत्सवको मंगलबार छैटौ दिनसम्ममा ७५ लाखभन्दा बढी भेटी नगदै संकलन भएको छ ।

महोत्सव मुल आयोजक समारोह समितिका सदस्य सचिव डिल्ली नेपालका अनुसार हालसम्म ७५ लाख २ हजार ७३१ रुपैयाँ संकलन भएको हो । धान्याचल (धान) कम्तिमा ४० क्वीन्टल र ताण्डुलाचल (चामल) ३५ क्वीन्टल संकलन भएको आयोजक समितिले जनाएको छ ।

कात्तिक २७ देखि मंसिर ९ गतेसम्म सञ्चालन हुने धार्मिक महोत्सव तथा १०८ कुण्डीय श्री गोपाल महायज्ञ कोटीहोममा अपेक्षाकृत भेटी संकलन भएको आयोजक समितिले जनाएको छ ।ं महोत्सवमा श्रीमद् देवी भागवत कथा महोत्सव पनि सञ्चालन भइरहेको छ । १३ दिवसीय १०८ कुण्डीय कोटीहोम पूर्वमा हालसम्मकै ठुलो धार्मिक कार्यक्रम भएको तीर्थयात्रीले बताएका छन् ।

१ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेको कार्यक्रममा हालसम्म नेपालका ५१ जिल्लाका तीर्थयात्री सताक्षीधामको कोटीहोममा सहभागी भएका छन् । आयोजक समितिको सूचना डेक्सका अनुसार नेपालका हालसम्म करिब ५ लाख धर्मावलम्बीले कोटीहोममा सहभागी भएको जनाएको छ । यस्तै भारत, भुटान, स्कटलेण्ड, सिंगापुर, अमेरिका, बंगलादेशलगायत मुलुकका हालसम्म १२ हजार हिन्दु धर्मावलम्वी तीर्थयात्रीले सहाभागिता जनाएका छन् ।

सताक्षीधाम परिषरमा देखिएका उर्लाबारी ७ मोरङ्गको शिद्धीविनायक गणेश मन्दिरका अध्यक्ष महेन्द्र थापाले अचम्भित हँुदै भने, ‘सताक्षीधामलाई सन्त निवासको रुपमा परिणत गर्न स्थानीय तहले योजना बनाउनुपर्छ ।’ ५ वर्षअघि सताक्षीधाम आउँदाको पीडा १०८ कोटीहोमले भुलिदिएको उनले बताए ।

संखुवासभाबाट मनोकांक्षा पूरा गर्न पहिलोपटक सताक्षीधाम आएकी सभापोखरी ३ की हर्कमाया बाह्राकोटीले तोला दान गर्दे भनिन्, ‘सताक्षी माताले जीवनका सबै रोग हरण गरुन् ।’ सताक्षीधाम आउने उनको यसअघि पनि ठुलो इच्छा थियो । उनले भनिन्, ‘सताक्षीले यसैबेला बोलाएर मेरो मनोकांक्षा पूरा गर्नुभयो ।’

सताक्षीको पूर्वाधार थपिएकोमा धरमपुर झापाका रामेश्वर चौधरीले खुसी व्यक्त गरे । उनले भने, ‘सताक्षीधाममा सन्तको आवगमन भएपछि लोभ, मोह, र इश्र्या हटेर गयो ।’ वर्षेनी देवालय थपिँदै गएको उनको भनाइ छ ।

०७१ सालमा सताक्षीधाममा आचार्य नन्दकिशोर भारद्धाजले २ वटा गाई वृन्दावनबाट ल्याएर गौशालाको स्थापना गरेका थिए । सो गौशालामा यतिबेला ३०५ वटा गाईको संरक्षणमा छन् ।

नेपालबाट भारत निकासीका लागि लैजाँदै गरेका, सडकका असहाय र अपाङ्ग गाईको गौशालाले संरक्षण गर्ने गरेको छ । अघिल्ला ४ वर्षमा पनि सताक्षीधाममा धार्मिक अनुष्ठान हुने गरेका थिए । यो वर्ष झापाका १५ वटै स्थानीय तह कोटीहोम मुल आयोजक समारोह समितिको सदस्य बनेपछि महोत्सव वृहत बनेको हो ।

महोत्सवमा १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई, कानुन मन्त्री हिक्मत कार्की, प्रतिनिधि सभा सदस्य एलपी साँवा लिम्बू, राजेन्द्र लिङ्गदेन, प्रदेश सांसद झलकबहादुर दर्लामी मगर लगायतको सहभागिता भइसकेको छ ।

मन्त्रीलगायतका सांसदले सताक्षीधाममा बाटो, खानेपानी, सञ्चार, सुरक्षा लगायतका विषयमा आआफ्नो ठाउँबाट सहायोग गर्ने बताए । यता झापा निर्वाचन क्षेत्र नम्बर ३ का संघीय सांसद राजेन्द्र लिङ्गदेनले भ्रष्टचार गर्नेहरुलाई तह लगाउन सक्ने शक्ति आफूलाई प्रदान गरिदिन सताक्षी मातासँग वरदान मागे ।

उनले भने, ‘राजनीति गर्नेले भ्रष्टचार गरेकै कारण आफूलाई राजनीतिक व्यक्ति भन्न लाज हुन्छ ।’ नेता कार्यकर्ताकै ११-१२ कक्षा अध्ययन गर्ने छोराछोरीले पनि आफ्ना अभिभावक राजनीतिककर्मी हो भन्न हिच्किचाउने गरेको उनले बताए ।

सताक्षीधाम धार्मिक महोत्सवमा खेल तमासा पनि सुरु भएको छ । ३ करोड खर्चको अनुमान गरेको आयोजक समितिले ५ करोड भेटी संकलन गर्ने लक्ष्य राखेको छ । कोटीहोमबाट संकलन भएको भेटीले सताक्षीधाम क्षेत्रको पूर्वाधार निर्माण हुने शिवताक्षी नगरकी उपमेयर भोजकुमारी नेपालले बताइन् ।