बिर्तामोड । झापाको बिर्तामोड-२ चैतुबारीकी १८ वर्षीया सुनिता राजवंशीको उपचारमा आर्थिक अभाव भएको भन्दै युवाहरु आर्थिक संकलनमा जुटेका छन् । उनीहरुले आज (मंगलबार)देखि बिर्तामोडस्थित मुक्तिचौकमा सहयोगी स्टेशन राखी रकम संकलन गर्न सुरु गरेका हुन् ।

पेटसम्बन्धी रोगका कारण विराटनगरस्थित नोबेल अस्पतालमा १० दिनदेखि उचाररत् राजवंशीको उपचारमा आर्थिक अभावका कारण समस्या आएको बुबा टनलाल राजवंशीले बताए । आर्थिक अवस्था अत्यन्त न्यून रहेको राजवंशी परिवारलाई स्थानीय छरछिमेकले सहयोग रकम संकलन गरेर उपचार सुरु गरेको बताइएको छ । उनको उपचारमा हालसम्म चार लाख रुपैंयाबढी खर्च भइसकेको चैतुबारी बजार ब्यवस्थापन समितिका अध्यक्ष पारस संग्रौलाले जानकारी दिए ।

पेटसम्बन्धी समस्याका कारण सिकिस्त अवस्थामा रहेकी सुनितालाई उपचारका लागि नोबेल अस्पताल पु¥याएको र उनको सफल शल्यक्रिया समेत भइसकेको बताइएको छ । बिरामीको स्वास्थ्यमा क्रमिक सुधार आए पनि लामो समय आईसियुमा राख्नुपर्ने भएकाले उनको उपचारमा अझै आठ लाखबढी रकम लाग्ने चिकित्सकले बताएको खेलकुद विकास समिति बिर्तामोडका उपाध्यक्ष केशव भण्डारीले बताए ।

आर्थिक अवस्था न्यून भएकाले सहयोग गर्न अपिल गर्दै सुनिता बचाउ अभियान सञ्चालन गरिएको छ । उनलाई सहयोग गर्नका लागि एक्सल बैंकमा बुबा टनलाल राजवंशीको नाममा रहेको खाता नम्बर ०२५०१०००११३७९६०००००१ मा सहयोग रकम जम्मा गरिदिन आग्रह गरिएको छ ।

युवा अवस्थामै गम्भिर रोगको शिकार बन्नु परेको र आर्थिक अवस्थासमेत अत्यन्त न्यून रहेकाले सबैले सहयोग गरे आफ्नो जीवन रक्षा हुने सुनिताले बताएकी छिन् । सुनिताले आफ्नो जीवन बचाई दिन सबैसंग आग्रह गरेकी छन् ।