झापा । अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार रानाले शान्ति सुव्यवस्था कायम गर्न नगर कटिवद्ध रहेको जनाएका छन् । समृद्ध नगर बनाउनका लागि सुशासन अत्यावश्यक भएको भन्दै उनले न्याय सम्पादनमा कसैसँग सम्झौता नगर्ने पनि उल्लेख गरे ।

जिल्ला सरकारी वकिल कार्यालय र जिल्ला प्रहरी कार्यालय झापाले आज (बुधबार) नगरपालिकाको सभाहललमा आयोजना गरेको समुदायमा सरकारी वकिल तथा समुदाय प्रहरी साझेदारी कार्यक्रममा बोल्दै मेयर रानाले गतवर्ष प्रदेशले निकालेको नगरपालिकाको सुशासनमा अर्जुनधारामा कमजोरी देखिएको स्मरण गरे । सुशासनमा कमजोरी भएकै कारण प्रदेश सरकारबाट आउने भनिएको ५ करोड आउन नसकेको उनले बताए ।

नगरको सुशासनमा कमी आएपछि नगरपालिकाले ९ वटा मावि र ११ वटै वडामा कानुनी साक्षरता अभियान सञ्चालन गरेको उनको भनाइ छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम आएपछि नगरमा प्रभावकारी भएको भन्दै उनले समुदायमा सरकारी वकिल कार्यक्रमले दोषीलाई कारबाही र पीडितलाई न्याय दिलाउन जनप्रतिनिधिले सहयोग गर्ने प्रतिवद्धता जनाए ।

झापा प्रहरी प्रमुख दिनेशराज मैनालीले खबर पाएको ७ देखि १० मिनेटमा प्रहरी घटनास्थलमा पठाउने कोशिस गर्ने बताए । प्रहरीसँग हातेमालो गरेको खण्डमा समाजमा हुने आपराधिक गतिविधि कमी हुने दाबी गरेका उनले प्रहरीलाई जनमैत्री बनाउन स्थानीयको पहल जरुरी रहेको सुनाए ।

कार्यक्रममा बोल्दै इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख मोहन थापाले घटनाको मुचुल्का उठाउन स्थानीय जनप्रतिनिधिबाट असहयोग भएको गुनासो गरे । उनले मुचुल्कामा साक्षी बस्न कसैलाई कानुनले नरोकेकाले सहयोग गर्दा अपराध नहुने बताए ।

आजबाटै नेपालका ७७ वटै जिल्लामा समुदायमा सरकारी वकिल कार्यक्रम शुभाराम्भ भएको जानकारी दिँदै उनले सरकारी वकिल, समुदाय प्रहरी अब स्थानीय तहमा जोडिने बताए । पीडितलाई न्याय, दोषीलाई कारबाही र समाजलाई कानुनी राज्यको आभाष दिलाउने मुख्य उद्देश्य रहेको पनि थापाले जानकारी दिए ।

कार्यक्रममा बोल्दै नगरकी उपमेयर तथा न्यायिक समितिकी प्रमुख कमला खतिवडा आचार्यले पीडितलाई न्याय दिलाउन र पीडकलाई कारबाहीको दायरामा ल्याउन स्थानीय नागरिक इमान्दार बन्नुपर्नेमा जोड दिइन् । लक्ष्य प्राप्तिका लागि वकिल र प्रहरीबाट मात्र सम्भव नहुने भएकाले घटनाको सत्य, तथ्य नागरिकले इमान्दारीपूर्वक जानकारी गराएको खण्डमा दोषीले उन्मुक्ति पाउन नसक्ने उनको भनाइ थियो ।

न्यायिक समितिमा हरेक प्रकारका मुद्दा आउने गरेको बताउँदै आफ्नो कार्यक्षेत्रभन्दा बाहिरको मुद्दा पनि बाध्यतावश मिलाउनु परेको सुनाइन् । अहिले १३ किसिमका मुद्दा न्यायिक समितिले हेर्दै आएको छ ।

कार्यक्रममा वडाध्यक्ष लोकनाथ गौतम, कार्यपालिका सदस्य दिलमाया दास, शारदा भट्टराई, मेलमिलापकर्ता भानु मिश्र, चन्द्रकला निरौला, मोहनकुमार योगी, शेखर वन, इन्दिरा दाहाल, एकदेव खनाल, खेम काफ्लेलगायतले जिज्ञासा राखेका थिए । जिल्ला न्यायाधिवक्ता केशवप्रसाद पन्तको अध्यक्षतामा भएको कार्यक्रममा कार्यपालिका सदस्य, वडाध्यक्ष, नगरमा गठित मेलमिलाप समितिका प्रतिनिधि, जनप्रतिनिधिलगायतको सहभागिता थियो ।