शनिश्चरे । अर्जुनधारा-४ रातेखालामा रहेको सिंहवाहिनी देवी भद्रकाली शक्ति पीठमा मंसिर १५ गतेदेखि १८औँ वार्षिक अनुष्ठानअन्तर्गत पद्म महापुराण हुने भएको छ ।

सम्पूर्ण प्राणी जगतको संरक्षण र पितृ मोक्ष प्राप्ति गर्ने उद्देश्यले आयोजित महापुराण सम्पन्न गर्न समाजसेवी शेखर प्रधानको संयोजकत्वमा २०१ सदस्यीय मुल आयोजक समिति गठन गरिएको बिहीबार बिहान पीठ परिसरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । पीठ व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र चौलागाईका अनुसार मंसिर २६ गते समापन हुने महापुराण सम्पन्न गर्नका लागि विभिन्न ६ वटा उपसमिति गठन गरिएको छ ।

जसमा यामबहादुर अधिकारीको संयोजकत्वमा आर्थिक, सुरेन्द्र खोयाहाङको संयोजकत्वमा सुरक्षा, भुपाल कार्कीको संयोजकत्वमा प्रचारप्रसार, रञ्जित डाँगीको संयोजकत्वमा खाद्यान्न, धनबहादुर राईको संयोजकत्वमा पूजा र साउण्ड सिष्टममा डिल्ली तामाङ रहेका छन् ।

महापुराणमा आचार्य पण्डित होमनाथ खनालले कथा प्रवचन गर्नेछन् भने पाठ पारायण उपवाचक खनतनर्य अनुप खनाल, पण्डित विवेक अधिकारी र पण्डित बालकृष्ण दाहाल रहेका छन् ।

अध्यक्ष चौलागाईका अनुसार यस महापुराणबाट मन्दिर निर्माणसँगै घेराबारा र भूमि विस्तार गर्ने लक्ष्य लिइएको छ । आठ कठ्ठा पाँच धुर जग्गा रहेको यस मन्दिरको पूर्वपट्टि रहेको जग्गा करिब डेढ कठ्ठा खरिद गर्ने मन्दिरको लक्ष्य रहेको उनले बताए ।

महापुराण सम्पन्न गर्नका लागि वडाले रंगरोगन र नगरपालिकाले विद्युतीकरणमा सहयोग गरेको समितिले जनाएको छ । समितिकी सचिव जमुना थपलियाका अनुसार मन्दिरको आजीवन सदस्य ४६० जना रहेका छन् । महापुराण सम्पन्न गर्न करिब ५ लाख खर्च लाग्ने बताइएको छ भने १० लाख आर्थिक संकलन गर्ने लक्ष्य लिइएको कोषाध्यक्ष कोशी राईले जानकारी दिइन् ।