0 Shares

लक्ष्मीप्रसाद उपाध्याय,
काठमाडौँ । जलवायु परिवर्तनले नेपालका हिमाल पग्लने दर बढी रहेको विज्ञले बताइरहेका बेला विकसित मुलुकबाट आउने पर्यटकका लागि हिमाल थप आकर्षणको केन्द्र बन्न थालेका छन् ।

जलवायु परिवर्तनको असरका बारेमा भएको विभिन्न अध्ययन अनुसन्धानले बढ्दो तापक्रमसँगै हिमालको हिउँ पग्लने दरले हिमाल कालो भइरहेका देखाएको छ । हिमाली क्षेत्रमा परेको प्रभावलाई कम गर्ने उपायका बारेमा विश्व मञ्चमा गहन चिन्ता व्यक्त भइरहेको बेला हिमाल हेर्ने पर्यटकको सङ्ख्यामा वृद्धि भइरहेको छ ।

हिमाली पर्यटन व्यवसायमा लामो अनुभव भएका काजी शेर्पाका अनुसार पछिल्ला वर्षमा जलवायु परिवर्तनले हिमाल सङ्कटमा परेको समाचार बाहिर आएपछि विकसित मुलुकबाट आउने पर्यटकले हिमालको दृश्यावलोकनलाई विशेष रुचिका रूपमा लिन थालेका छन् ।

उहाँले भन्नुभयो, ‘‘हिमालको हिउँको रेखामाथि सर्न थालेको यथार्थता हो । यसको व्यापक प्रचारप्रसार भएर नै होला, कालान्तरमा हिमाल देख्न नपाइन सक्ने मनोविज्ञानले विदेशीलाई पनि छोएको हो कि ?’ पछिल्ला केही वर्षमा नेपाल आउने पर्यटकको घुम्ने क्षेत्र हिमाली क्षेत्रको पदयात्रा हुनथालेको छ । नेपाल भित्रिने कुल पर्यटकमध्ये ८० प्रतिशतभन्दा बढी संरक्षित क्षेत्र घुम्न आउने गरेका छन् ।

वन तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीका अनुसार प्राकृतिक सम्पदाको संरक्षणमा नेपालको उल्लेख्य सफलतासँगै पर्यटकहरू संरक्षित क्षेत्रभित्रका वन, वनस्पति, वन्यजन्तु तथा प्राकृतिक दृश्य हेर्नेको दर निकै वृद्धि भइरहेको छ । सचिव डा. ओलीले भन्नुभयो, ‘चितवन, बर्दियापछि पर्यटकको आकर्षणको केन्द्र सगरमाथा, अन्नपूर्ण, गौरीशङ्कर तथा कञ्चनजङ्गा पर्ने गरेका छन् । सायद हिमालप्रतिको आकर्षण पछिल्ला वर्षमा बढी हुने गरेको छ ।’

सगरमाथा राष्ट्रिय निकुञ्जमा चार वर्षअघि घुम्न पुग्ने विदेशीको सङ्ख्या २५ हजार थियो । अहिले यो सङ्ख्या बढेर ५८ हजार पुगेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार सगरमाथा घुम्न जाने दर अझै बढी रहेको छ । सगरमाथा राष्ट्रिय निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले भन्नुभयो, पछिल्ला समयमा हिमाल हेर्न आउने सङ्ख्या ह्वात्तै बढेको छ । हिमालप्रतिको आकर्षण त छँदैछ, हिमालप्रतिको चिन्ता पनि पर्यटकलाई छ भन्ने कुराको सन्देश पनि यसले दिएको छ ।

उता अन्नपूर्ण क्षेत्रमा पनि पछिल्ला वर्षमा पदयात्रामा जाने विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण क्षेत्रका प्रमुख राजकुमार गुरुङका अनुसार पोखरा आउने पर्यटकले अन्नपूर्ण पदयात्रालाई बढी महìव दिएको पाइएको छ । उहाँले भन्नुभयो, ‘‘विदेशीलाई पछिल्ला दिनमा नेपालका हिमालप्रतिको चासो निकै बढेको अनुभव हुन थालेको छ ।’

सन् २०१७ मा एक लाख ७० हजार विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रमा प्रवेश गरेका थिए भने सन् २०१८ मा त्यो सङ्ख्या वृद्धि भएर एक लाख ८० हजार पुगेको छ । यो वर्ष अझै बढ्ने देखिएको छ ।

गौरीशङ्कर, कञ्चनजङ्गा, धौलागिरिलगायतका हिमाली क्षेत्रमा पदयात्रा गर्ने विदेशी पर्यटकको सङ्ख्यामा निकै वृद्धि भइरहेको विभागले जनाएको छ । विभागका महानिर्देशक गोपालप्रकाश भट्टराईले भन्नुभयो, ‘नेपालका हिमाली क्षेत्रप्रतिको विदेशी पर्यटकको मोह बढेको देखिन्छ । पर्यटकलाई थप आकर्षित गर्न पदयात्रामा सुविधा सम्पन्न गाँस, बासको थप व्यवस्था गर्नतर्फ सोच्न आवश्यक छ ।’