टीकाराम उप्रेती,
झापा । भारतीय सीमा सुरक्षा बल एसएसबीले नेपाली भूमि अतिक्रमण गरी सीमा क्षेत्रको दशगजा मिचेर सीमा स्तम्भ नेपालतिर सारेपछि अहिले नेपाली नागरिकको धनी पुर्जामा भएको जग्गासमेत भारतमा पुगेको छ ।

यसरी भारतीय सीमा सु्रक्षा बलले अतिक्रमण गरेर सीमा पश्चिम सारिएपछि झापाको गौरीगञ्ज गाउँपालिका–२, पिण्डालघुटुका बासिन्दाको पचासौँ बिघा नेपाली जमिन भारतीयको कब्जामा रहेको छ   ।

स्थानीय बासिन्दका अनुसार यहाँको कृष्णप्रसाद राजवंशी, योगेन्द्र राजवंशी कात्तिकलाल राजवंशी, उत्तमलाल राजवंशी, राजेन्द्र राजवंशी, ओमप्रकाश राजवंशी, चन्द्रमोहन राजवंशी, बनावा राजवंशीलगायतको जग्गा भारतीयको कब्जामा छ । उनीहरूले जग्गाको मालपोत भने बर्सेनि नेपाल सरकारलाई तिरिरहेको बताएका छन् ।

दुई देशको सीमा क्षेत्र कुनै स्तम्भ, बार, वा दशगजाले छुट्याउने गरेको हुन्छ । झापाको पश्चिम दक्षिण गौरीगञ्जस्थित सीमा क्षेत्रमा भने दुई देशको सीमा स्तम्भ नै आश्चर्य लाग्ने स्थानमा गाडिएको छ । झापाको एक सीमा स्तम्भ भने नेपाली बस्तीको बीचमा एक नेपालीको आँगनमा नै गाडिएको छ ।

भारतको एसएसबी हरेक महिनाको तीन पटकसम्म सीमा स्तम्भ हेर्न आउँछन् । हाम्रो देशका सुरक्षा निकायहरू वर्षौंसम्म सीमा क्षेत्रमा नआएपछि भारतीय सीमा सुरक्षा बलले नै सीमा स्तम्भ सार्ने गरेको स्थानीय बासिन्दाको अनुभव छ ।

झापाको गौरीगञ्ज गाउँपालिका वडा नम्बर २ पिण्डालघुटु निवासी बुद्धिलाल हेमरमको घरको आँगनैमा सीमा स्तम्भ गाडिएको छ । पहिला यो क्षेत्र नेपालकै थियो । भारतको सीमा सुरक्षा बलले एसएसबीले २०५५ सालमा यो सीमा स्तम्भ निर्माण गरेको हेमरमले बताउनुभयो । यो नै हाम्रो देशको सिमाना हो भनेर चाहिँ आफूहरूलाई थाहा नभएको उहाँको भनाइ छ, सुरुमा यो स्तम्भ सानो थियो पछि ०७४ सालमा बाढी आएपछि हामी राहत लिन  बजार गएका थियौँ त्यहाँबाट फर्कंदा यो स्तम्भ  ठूलो आकारमा देखेका हौँ । हामीले सामान्य केही किला वा कुनै ठूलो ढुङ्गामा रङ लगाएको वस्तु मात्र सम्झेका थियौँ ।

गौरीगञ्जको पिण्डालघुटुमा मात्र होइन त्यहाँदेखि करिब एक किलोमिटर  पूर्वमा पनि १९७९ सालमा निर्माण गरिएको जङ्गे पिल्लर नेपाली भूमिमा सारिएको छ । स्तम्भ नं. २६ लेखिएको सो स्तम्भ भएको ठाउँ नेपाली भूमि भएको तर अहिले यहाँ भारतीय नागरिकले कब्जा गरेर  खेती गर्न सुरु गरेको स्थानीयवासी तथा गौरीगञ्ज गाउँपालिकाको कार्यपालिका सदस्यसमेत रहेका जेठा मुर्मुले बताउनुभयो, २०५५ सालअघिसम्म कमल खोलाको पूर्वी किनारबाट सुरु हुने नेपाल भारतको सिमाना अहिले अतिक्रमण गरेर खोला पश्चिम पु¥याइएको छ ।

मुर्मका अनुसार २०५५ सालअघिसम्म नेपाल भारतको सीमा नजिकै रहेको बलुवाडाँगी गाँउमा साप्ताहिक हाट बजार लाग्ने गथ्र्यो । पछि त्यही हाटको विषयमा नेपाल र भारत पक्षका स्थानीयहरू बीच विवाद सुरु भएपछि भारत पक्षले सो सिमाना पश्चिम सारेको हो ।
स्थानीय ओमप्रकाश राजवंशीका अनुसार ‘विवादपछि त्यही समयमा नेपाल र भारतीय पक्षले सीमा नापजाँच गरेका थिए ।

त्यसपछि भारतीय पक्षले रातारात नेपाली सुरक्षाकर्मीको उपस्थिति नभएको पाइएपछि सिमाना पश्चिम सारेको थियो । नेपाली भू-भाग मिचेर सीमा पश्चिम सारेपछि यसैलाई आधार बनाएर भारतीयहरूले अहिले नयाँ सीमा स्तम्भ वरिपरि दशगजा क्षेत्र मिचेर आलु खेती गरिरहेका छन् ।  साबिकको आमगाँछी–४ को खेल मैदान पूर्व पनि भारतीय पक्षले दशगजा क्षेत्र मिचेर मकै खेती गरिरहेको राजवंशीको भनाइ छ ।

गौरीगञ्ज-२ का वडाध्यक्ष अघनुप्रसाद राजवंशीका अनुसार कोरोबारीको पिण्डालघुटु र आमगाछी क्षेत्रका चारदेखि पाँच सय बिघा क्षेत्रफल भारतले अतिक्रमण गरेको छ । सम्बन्धित निकायमा यसबारे जानकारी गराउँदासमेत नेपाल सरकारले सो भूमि फिर्ता गराउन कुनै पहल नगरेको स्थानीयको गुनासो छ ।