अर्जुनधारा । प्रत्येक वर्ष मार्ग शीर्षकृष्ण त्रयोदशीका दिन आज बेलुकी दिवङ्गत पितृका नाममा दीप दान गरिएको छ ।

पूर्वको पशुपतिनाथ भनेर परिचित अर्जुनधारा जलेश्वर धामलगायत देशभरका शिवमन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात आज दिवङ्गत पितृका नाममा दीप दान गर्न लाखौँ भक्तजन जुटेका छन् । आज दीप दान गरी भोलि सोमबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाइन्छ ।

प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन झापाको अर्जुनधारामा आउँछन् । यसरी आएका श्रद्धालु भक्तजनको आज बिहानैदेखि अर्जुनधारा मन्दिर परिसरमा भीड लागेको थियो । बत्ती बाल्न बस्ने ठाउँ रोक्न बिहानैदेखि देशका विभिन्न स्थानबाट आएका भक्तजनको अर्जुनधारामा भीड लाग्छ ।

आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै झापाको अर्जुनधारा, शिवसताक्षीलगायत ठाउँमा शतबीज छर्ने गरिन्छ । बालाचतुर्दशीको पूर्वसन्ध्या मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन राति भक्तजनले अर्जुनधाराको मन्दिरवरपर बसी दिवङ्गत आत्माका नाममा महादीप बाली भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताउछन् ।

शतबीज भनिए पनि हाल सप्तबीज (धान, जौ, तिल, गहँु, चना, मकै, कागुनो) छर्दै अर्जुनधारामा अर्जुनधाराको मुल मन्दिरको वरिपरि शतबीज छरिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम हेमाद्रि नामक धर्मग्रन्थमा उल्लेख गरिएअनुसार धानका सय गेडा चढाउनुपर्ने अरु अन्न होइन भन्नुहुन्छ ।