झिलझिले । झापाको शिवसताक्षी नगरभित्र सञ्चालन हुने निर्माणका हरेक आयोजनामा अबदेखि स्थानीय डकर्मीले प्राथमिकताका आधारमा काम पाउने भएका छन् । नगरको बेरोजगारी समस्या समाधान गर्न र बैदेशिक रोजगारका लागि पलायन हुने दक्ष डकर्मीलाई आफ्नै ठाउँमा रोगगारी दिने उद्देश्यले यस्तो नियम बनाइने भएको हो ।

शिवसताक्षी नगरका डकर्मीलाई अझ जिम्मेवार र जानकार बनाउनका लागि मंगलबारदेखि शुरु ७ दिने तालिमको उद्घाटन गर्दे नगरका कार्यवाहक प्रमुख तथा नगरकार्यपालिकाका प्रमुख सचेतक कुलबहादुर बस्नेतले यस्तो कुरा खुलाएका हुन् । उनले भने, ‘अबदेखि शिवसताक्षी नगरका डकर्मीले नगरभित्रका सरकारी योजनाका विकास निर्माणका काममा प्राथमिकताका आधारमा काम पाउने छन् ।’

वडा नम्बर २ का वडा अध्यक्ष समेत रहेका थापाले भने, ‘नगरभित्रको बेरोजगारी समस्यालाई सम्बोधन गर्न र हरेक योजनाको प्रत्यक्ष अप्रत्यक्षरुपमा अनुगमनका लागि नगरभित्रका डकर्मीलाई प्राथमिकताका आधारमा काम दिन लागिएको छ, जसका कारण कमसल निर्माण सामग्री प्रयोग र अनियमितता हुने गरेको आरोपको समाधान पनि हुनेछ ।’ थापाले भने, ‘स्थानीय डकर्मीलाई आफ्नै गाउँ, वडा र नगरका आयोजनामा काम गर्ने अवसर दिँदा निर्माणमा हुने वेथिति र अनियमित चिटिङ्ग गर्ने ठेकेदारको बदमासी समेत बन्द हुनेछ ।’

नगरकार्यपालिकाको आर्थिक सहयोग र अमर जानकी कन्सल्ट एण्ड विल्डर्स प्रालि इटहरीको प्राविधिक सहयोगमा भएको तालिम उद्घाटन कार्यक्रम नगरका प्रमुख लेखा अधिकृत भीमबहादुर खवासको अध्यक्षतामा भएको थियो । कार्यक्रममा बोल्ने अधिकांस वक्ताले तालिमबाट प्राप्त सीपलाई डकर्मीले भवन संहिताको न्यूनतम कानुनको पालना गराई निर्माणपूर्व नक्सा पास गराएरमात्र कुनै पनि संरचना निर्माण गर्न सुझाएका थिए ।

नगरका इन्जिनियर कृष्ण राई र अमर जानकी कन्सल्टका इन्जिनियर सुमन ओलीले डकर्मीले शिवसताक्षी नगरमा निर्माण हुने हरेक संरचनामा जिम्मेवार भएर काम गरे त्यस्ता संरचना ढले, लडे र भत्किएर कसैको पनि धनजनको क्षति नहुने बताए । कार्यक्रमको सञ्चालन नगरकै कर्मचारी विमल बाँस्कोटाले गरेका थिए ।

तालिम मंसिर १६ गतेसम्म सञ्चालन हुने शिवसताक्षी नगरकार्यपालिकाले जनाएको छ । नगरका ११ वटै वडाबाट ३५ जना डकर्मीले तालिममा सहभागिता जनाएका छन् ।