0 Shares

शनिश्चरे । झापा अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार राना मगरलाई पितृ शोक परेको छ ।

नगर प्रमुख रानाका बुवा ८३ वर्षीय रामबहादुर राना मगरको आज बुधबार साँझ ५ बजे अर्जुनधारा-११ स्थित निजी निवासमा निधन भएको हो । उनी कलेजोसम्बन्धी रोगबाट पीडित थिए ।

तीन साताअघि उपचारका लागि बिर्तामोडको बिएण्डसी हस्पिटलमा लगिएको थियो । उपचारपछि एक साताअघि उनलाई घर ल्याइएको उनको परिवारले जनाएको छ । उनको स्व. पञ्चमाया, श्रीमती पवित्रा, छोराहरु जेठा हरिकुमार राना, माइला पुष्प र स्व. तारा राना, छोरीहरु मीना, स्व. मैया, १३ जना नातिनातिनी र ८ जना पनाति-पनातिनी रहेका छन् ।

उनको पार्थीव शरीरलाई भोलि (बिहीबार) बिहान १० बजे कनकाई माइ नदीमा अन्त्येष्टि गरिने परिवारजनले जनाएको छ ।

नगर प्रमुख रानालाई गत फागुन ३ गते पत्नि शोक परेको थियो । उनका ५९ वर्षीया श्रीमती शान्ति राना मगरको निधन भएको थियो ।