अर्घाखाँची । अर्घाखाँचीमा बुधबार एक यात्रीवहाक बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । कम्तीमा १३ जना घाइते छन् ।

सन्धिखर्क नगरपालिका वडा नम्बर-६, नरपानीमा लु२ख २१४८ नम्बरको बस दुर्घटना भएको हो । घाइतेमध्ये गम्भीर अवस्थाका ११ जनालाई उपचारका लागि बुटवल पठाइएको छ ।

सामान्य घाइते भएका दुईजनाको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भइरहेको छ । मृतकहरुको अहिलेसम्म सनाखत हुनसकेको छैन ।

उनीहरुको घटनास्थलमै मृत्यु भएको अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिए । उद्धारकार्य जारी रहेकाले मृतक र घाइतेको संख्या बढ्नसक्ने बताइएको छ ।

सन्धिखर्कबाट बुटवलतर्फ जाँदै गरेको सो बस बुधबार अपराह्न ४ बजेतिर दुर्घटना भएको हो । बस सडकबाट करिब ५०० मिटर तल खसेकाले उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।

बसमा कति यात्री थिए भन्ने यकिन भइनसकेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।