0 Shares

झापा । झापाको कचनकवलमा जंगली हात्तीको आक्रमणबाट एक जना बन हेरालुको ज्यान गएको छ । कचनकवल वडा नम्बर ७ बालुवाडीस्थित पाथिभरा सामुदायिक बनका बन हेरालु ५५ वर्षीय काया राया क्षेत्रीको बिहीबार राति मिृत्यु भएको हो ।

यो घटनाको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले पुष्टि गरेका छन् । मानव बस्ती र बन क्षेत्रको सिमानामा लगाएको सौर्य विद्युतीय बारको ढोका लगाउन जाँदै गरेका क्षेत्रीलाई जंगलबाट बस्ती पसेको हात्तीले लछारपछार पार्दै आक्रमण गरेको थियो ।

स्थानीयको भनाइ उद्दृ्रत गर्दै सो क्षेत्रका संघीय सांसद राजेन्द्र लिङ्गदेनले भने, ‘विद्युतीय बारको ढोका लगाउन ढिलो भएकाले हात्ती मानव बस्तीमा छिरेको हो । यसअघि ६ बजे नै सौर्य विद्युतीय बारका ढोका बन्द भइसकेका हुन्थे ।’ बिहीबार साँझ साढे सात बजेमात्र ढोका लगाउन जाँदा उनलाई हात्तीले आक्रमण गरेर घटनास्थलमै ज्यान लिएको थियो ।

प्रत्येक दिन बिहान विद्युतीय बारका ढोका खोल्ने र बेलुका बन्द गर्नकै लागि स्थानीय पाथीभरा सामुदायिक बनले क्षेत्रीलाई नियुक्ति गरेको थियो । उनको काम बन क्षेत्र र मानव बस्ती विचको विद्युतीय बारको ढोका बन्द गर्ने र लगाउने मात्र हो ।

स्थानीयका अनुसार अन्य दिनको भन्दा हिजो उक्त बारको ढोका ढिलो बन्द भएकाले हात्ती समसाँझै बस्तीमा पसेको थियो । बारको ढोका लगाउन जाँदा क्षेत्रीको हात्तीसँग मुठभेड भएको स्थानीयले बताएका छन् ।

मानिस मारेपछि सो हात्तीले गाउँमा आतंक मच्चाएको स्थानीयले बताएका छन् । जंगलतर्फ धपाउन विद्युतीय बारका ढोका बन्द गरिएका थिए । ढोका खोल्ने र बन्द गर्ने क्षेत्री सो सामुदायिक बनका एकमात्र तालिम प्राप्त कर्मचारी थिए ।