झापा । सरकारको जनता आवास कार्यक्रममार्फत अर्जुनधारा नगरपालिकाभित्र यसपटक ३३ वटा घर बन्ने भएको छ ।

प्रदेश सांसद बृख प्रधानले अर्जुनधारा ८ स्थित पेट्रोल पम्प पछाडि रहेको नयाँ बस्तीमा आज (शुक्रबार) एक घरको शिलान्यास गरे । मुस्लिम समुदायकी विपन्न सोफिया खातुनका लागि निर्माण हुने उक्त घरको शिलान्यास भएसँगै अर्जुनधारामा ३३ परिवारको घर बन्ने भएको हो ।

प्रदेश सांसद प्रधानका अनुसार सरकारको नीतिगत कार्यक्रमअन्तर्गत २८ वटा संघीय सरकार र ५ वटा प्रदेश सरकारको बजेटबाट अर्जुनधारा नगरपालिकामा रहेका विपन्न समुदायको घर निर्माण गरिनेछ ।

एउटा घर निर्माण गर्न सरकारले चार किस्तामार्फत ३ लाख ३२ हजार पाँच सय रुपैयाँ प्रदान गर्ने सहरी विकास तथा भवन कार्यालय इलामका इन्जिनियर प्रजल शाहले जानकारी दिए ।

उनका अनुसार उक्त बजेटबाट टिनको छाना भएको २ कोठे पक्की घर, पाँच फिटको बरण्डासहित १० इञ्चको पर्खाल भएको भूकम्प प्रतिरोधक घर बनिनेछ । घर निर्माणका लागि घरधनीले जग्गा उपलब्ध गराउनुपर्ने प्रावधान राखिएको छ ।

वडा कार्यालयको सिफारिसमा लक्षित समुदाय सिमान्तकृत, लोपोन्मुख, दलित र मुस्लिम समुदायका निम्ति उक्त घर निर्माण हुने प्रदेश सांसद प्रधानले बताए ।

घर निर्माणका लागि अर्जुनधाराको ८ नम्बर वडामा सबैभन्दा बढी ७ वटा घर बनिनेछ भने १, २ र १० नम्बर वडामा २–२ वटा, ४, ५, ६ र ९ नम्बर वडामा ३–३ वटा, ७ र ११ नम्बर वडामा ४–४ वटा घर निर्माण गरिने भएको छ ।

यसपटक ३ नम्बर वडामा भने सरकारले अर्कै योजनामार्फत घर निर्माण गरिदिने भएपछि जनता आवास कार्यक्रममा छनोट नगरिएको सांसद प्रधानको भनाइ छ ।

‘अर्जुनधारा नगर क्षेत्रमा मात्र एक करोड ९ लाख ७२ हजार पाँच सय मूल्यका ३३ वटा घर बनिनेछ’, प्रदेश सांसद प्रधानले भने । उनका अनुसार घर निर्माणका लागि ५ सदस्यीय मुल निर्माण समिति बनिएको छ । जसको संयोजकमा मोहन हेमरम रहेका छन् ।

समितिसँगै स्थानीय तह, घरधनीसँग समन्वय गरेर घर निर्माणको काम हुने प्राविधिक इन्जिनियर शाहले बताए । यसको अनुगमन भने सहरी विकास तथा भवन कार्यालय इलामले गर्नेछ ।

प्रदेश सांसद प्रधानको निर्वाचन क्षेत्र २ (ख) अन्तर्गत बुद्धशान्ति गाउँपालिकामा यसै वर्ष १४ वटा घर जनता आवास कार्यक्रममार्फत बनिनेछन् । शिलान्यास कार्यक्रममा नगरपालिकाका सामाजिक विकास समितिका संयोजक दिलिप गुरुङ, सञ्चार उद्यमी कुमार उप्रेतीलगायतको उपस्थिति रहेको थियो ।