ताप्लेजुङ । ३ हजार ७ सय ९४ मिटर उचाइको पाथीभरामा बैशाखयता १ लाख ६ हजार ६ सय १३ जना तीर्थयात्री पुगेका छन । पाथीभरा क्षेत्रको माथिल्लो फेदी अस्थायी प्रहरी चौकिका अनुसार सबैभन्दा बढी कात्तिकमा गएका हुन् ।

प्रहरी इन्चार्ज धनराज तुम्वापा लिम्वूले कात्तिक महिनामा ४४ हजार २ सय ३७ जनाले दर्शन गरेको बताए । उनका अनुसार वैशाखमा १८ हजार ९ सय २५, जेठमा १४ हजार ३ सय ५६, असारमा ३ हजार ३१, साउनमा ७ सय ७५, भदौमा २ हजार ७६ र असोजमा २३ हजार २ सय २३ जना पाथिभरा गएका छन् ।

सामान्यतया साउनमा देवीदेवता गुफा बस्ने भएकाले दर्शन गर्न हुन्न भन्ने मान्यता रहे पनि दर्शनार्थी पुगेका छन् । पुजारी डिल्ली आचार्यका अनुसार पाथीभरा परिषरमा शिवलिंग ल्याएर राखिएकाले तिर्थयात्री साउनमा पनि आएका हुन् ।

सबैभन्दा धेरै फागुन र चैतमा आउने गरेका छन । गत वर्ष चैत १३ गते एकै दिन १३ हजारले दर्शन गरेका थिए । त्यसपछि कार्तिक ५ गते एकै दिन ८ हजार २ सय ९६ जनाले दर्शन गरे । असोजमा सबैभन्दा बढी २५ गते ६ हजार २ सय जना पुगेका थिए ।

धनराजका अनुसार अधिकांश दर्शनार्थी समूहमा आउँछन् । एक्लै आउने आक्कलझुक्कल मात्र हुन्छन् । समूहमा आउनेको एक जनाको नाम लेखेर संख्या खुलाइन्छ । बेलुका बास बस्ने र राती १२ बजेदेखि नै फेदीबाट उकालो चढ्नेहरू हुने भएकाले विवरण टिप्न रातभरि पनि प्रहरी तैनाथ राखिने लिम्वूले बताए ।

चैत मसान्तसम्मै विवरण राख्ने र बार्षिक यकिन तथ्यांक निकाल्ने प्रहरीको योजना छ । पाथीभरामा वार्षिक तीन लाखसम्म दर्शनार्थी आउने पाथीभरा क्षेत्र विकास र संरक्षण समितिको आँकलन छ ।

यहाँ आउने सबैभन्दा बढी झापाका हुन्छन् । त्यसपछि मोरङ, सुनसरी र सिक्किमका छन् । काठमाडौंसहित पश्चिम नेपालबाट पनि पुग्छन् । विदेशमा सबैभन्दा बढी सिक्किम र मनिपूर क्षेत्रबाट आउँछन् ।

हिउँदमा सुक्खायाम भएकाले भीड कम हुन्छ । लालीगुराँससमेत फुल्ने भएकाले चैत-वैशाखमा धेरै पुग्छन् ।