अर्जुनधारा । अर्जुनधारा जेसीज शनिश्चरेले बिहीबारबाट जेसीज सप्ताह सुरु गरेको छ ।

सप्ताह कार्यक्रम अन्तर्गत चित्रकला प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि तथा वडा नं. ८ का अध्यक्ष गोपीचन्द्र गौतमले नेतृत्व निर्माण गर्न अग्रसर जेसीज युवाहरुको लागि बलियो संस्था भएको बताए ।

उनले अगाडि भने, ‘नेतृत्व गर्ने व्यक्ति एक्लै हुन्छ, हिम्मत हारेन भने सक्षम भएर समाजमा उभिन्छ ।’ त्यसैले जेसीज जुझारु युवाहरुको ढुकढुकी भएको बताए ।

कार्यक्रममा विशेष अतिथि अर्जुनधारा नगरपालिकाका प्रशासकीय प्रमुख पंकज भुर्तेलले जेसीजको आस्थाले दर्शाएको सन्देश जीवन उपयोगीसँगै कर्मयोगी बनाउने सूत्र भएको बताए ।

अर्का अतिथि प्रेस क्लब अध्यक्ष तथा जेसीज पूर्व महासचिव कुमार भट्टराईले चित्रकला साहित्यभित्रको एउटा अभिन्न अंग भएको हुँदा जेसीजले ल्याएको चित्रकला प्रतियोगितालाई नगर साहित्यले सम्मान गर्नुपर्ने बताए ।

चित्रकला संयोजक भवानी बरालको अगुवाइमा भएको कार्यक्रममा अर्जुनधारा जेसीज वर्ष १५ का अध्यक्ष दिपीन राईले चित्रकला प्रतियोगिताको औचित्यबारे प्रस्ट्याउँदै सहजीकरण अभियानमा सहयोग गरेका थिए ।

शनिश्चरे बजारको देवकोटा चोकमा आयोजित उद्घाटन समारोहमा अर्जुनधारा जेसीजका मानार्थ सदस्य चतुर्भुज काफ्ले, वर्ष १८ का अध्यक्ष अजयकुमार देव, ज्येष्ठ नागरिक समाजका नरेन्द्र तिम्सिना, शनिश्चरे प्रहरी चौकीका इन्चार्ज घनश्याम पाण्डे, ट्राफिक प्रहरीका शनिश्चरे प्रमुख दिपेश पौडेल, समाजसेवी महेश ढकाल, अर्जुनधारा माविका प्रअ टंक बस्नेत, प्रगतिका प्रअ मातृका निरौला, जेसीज कार्यकारी उपाध्यक्ष जीवन खनाल लगायतको उपस्थिति रहेको थियो ।

उपाध्यक्ष बिमला भट्टराईले आस्था वाचन गरेको कार्यक्रमको सञ्चालन महासचिव भास्कर भट्टराईले गरेका थिए । चित्रकला प्रतियोगितामा नगरका १७ छात्रछात्राको सहभागिता रहेको थियो ।

यसरी नै बिहान ८ बजे इन्द्रपुरी रिसोर्टमा व्याटमिन्टन प्रतियोगिता समेत भएको थियो । उक्त प्रतियोगिताको उद्घाटन वडा नम्बर ५ का वडाध्यक्ष ध्यानबहादुर भारतीले गरेको अध्यक्ष टीआर गौतमले बताए ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुनेहरुलाई शनिबार समापन कार्यक्रममा पुरस्कार वितरण गरिने भएको कानुनी सल्लाहकार राजन साम्पाङले बताए ।