0 Shares

झापा । पूर्वापश्चिम राजमार्ग अन्तरगत बिर्तामोड सडक खण्डको रेखा पुल नजिकै आज विहान भएको बस दुर्घटनामा परी १३ जना घाइते भएका छन् ।

झापाको दमकबाट बनभोजका लागि इलामको कन्याम हिँडेको ना. ६ ख ६१८१ नम्वरको बस दुर्घटनमा परेको हो । दुर्घटनामा परी घाइते भएका सबैको बिर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक होमप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

ट्राफिक प्रहरी निरीक्षक अघिकारीका अनुसार दुर्घटनामा परी बसका सह चालक मोरङ पथरी–१ निवासी ३० वर्षीय विकास लिम्बूसहित दमक–१० निवासी २७ वर्षीय सन्तोष खड्का, सोही ठाउँ निवासी १९ वर्षीय पवन खड्का, उर्लावारी–३ निवासी १७ वर्षीया स्मृति धिमाल रहेका छन् ।

त्यस्तै दुर्घटनामा परी दमक १० निवासी १४ वर्षीय अभय धिमाल, मोरङ उर्लावारी ७ निवासी २२ वर्षीया माया घिमाल, दमक–१० निवासी १८ वर्षीया विविशा धिमाल, सोही ठाउँ निवासी १९ वर्षीया विनिता हमाल, २२ वर्षीय रोशन धिमाल, २८ वर्षीय नेत्र नेपाली, १८ वर्षीय आयुष नेपाली, १९ वर्षीय प्रदीप रिजाल र ४० वर्षीया नैनकला खड्का रहेका छन् ।

पिकअपको ठक्करबाट साइकल यात्रीको मृत्यु
यसैबीच, शुक्रबार राति बिर्तामोड सडक खण्ड अन्तरगत आँखा अस्पताल अगाडि पिकअप भेनको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार सुर्खेत घर भएका १७ वर्षीय साइकल यात्री शिव सुवेदीलाई पिकअपले ठक्कर दिएको हो । पिकअपको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीसंगै साइकलमा सवार १८ वर्षीय ताप्लेजुङ घर भएका लीला विष्ट गम्भीर घाइते भएका छन् । साइकललाई ठक्कर दिएलगत्तै पिकअप फरार रहेकाले चालक र पिकअपको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।