0 Shares

रमेश समदर्शी
घरको सिकुवामा एक जना बृद्धा बर्बराउँदै थिइन् । मुजा परेर चाउरी परिसकेको अनुहार केही मलिन देखिन्थ्यो । म अलिक टाढैबाट ती आमैलाई हेर्दै नजिकिँदै थिएँ । जति नजिक पुग्थेँ, आमैको बोलीमा केही स्पष्टता आउँथ्यो ।

उनी भन्दै थिइन्, ‘अब कसले हेर्ला हामीलाई ? यो केटाकेटीको विजोग हुन भो !’

सिम्मामा सायद ठुली छोरी हुनुपर्छ । उनका एक दाजु र दुई भाइ छन् । आमैले विलौना गर्नुको कारण थियो, घरको खम्बा ढल्नु । अर्थात् घरमुली बित्नु । भर्खरै सद्गत गरेका रहेछन् ।

उनीहरुको घरमै सानो पसल थियो । होे, त्यही पसल अगाडि बसेकी थिइन् आमै । केटाकेटी छिमेकीको घरमा थिए ।

सिम्मामा करिब १९ वर्षकी जस्ती देखिन्थी । किशोरी अवस्थाकी सिम्मामाको पहिरन साधारण छ । जनजाति अनुहारमा साधारण पहिरन अति नै सुहाएको छ । तर, जति नै सुन्दर देखिए पनि आफन्तको वियोग भने प्रष्ट झल्किन्थ्यो ।

जातले उनीहरु गुरुङ रहेछन् । तर, घरमुलीको काजकिरिया उनीहरुले एकै दिनमा सकेका थिए । आमा र छोरीबाहेक परिवारका अरु सदस्यमा त्यस्तो पीडा खासै देखिएको छैन । मानौँ, उनीहरु अर्कै सम्प्रदाय र अर्कै धर्मावलम्वी हुन् ।

जातको कुरामा म अलिक आत्मीय बन्ने गर्छु । सिम्मामालाई मैले ठाडै सोधेको चाहिँ होइन । उसको मंगोलियन अनुहारले पनि होइन । उनको नामले मलाई नजिक बनाएको हो । सिम्मा चाहिँ राई जातिमा प्रयोग गरिने भाषा हो । तर, उनी थिइन् सिम्मामा । जिस्काएर पनि भनिहेरेँ, ‘बरु सिम्मा राखेको भए हुन्थ्यो नि !’ उनको प्रत्यूत्तर भने केही थिएन ।

सपनामा होस् कि विपनामा मलाई गाडी सिक्ने हुटहुटी चलेको छ । जोकोही चिनेजानेकाले गाडी ल्याउँदा म त्यसमा चढिहाल्छु । छेउमा बस्छु अनि साथीले चलाएको पार्टपुर्जामा ध्यान दिन्छु ।

हातमा स्टेरिङ परेको छैन । न त खुट्टाले ब्रेक, क्लज र एक्सलेटर कुल्चन पाएका छन् । आखिर सपना न हो । विपना हुँदो हो त आँटै गरेर ड्राइभर सिटमा बसेर कुदाइन्थ्यो होला । तर, सपना भएकाले हुन सक्छ, आजसम्म स्टेरिङ घुमाएको छैन इञ्जिन स्टार्ट भएपछि ।

अहिले पनि म त्यस्तै सपना पूरा गर्ने दाउमा छु । साथीले मेरै अगाडि एउटा कालो रंगको स्कोर्पियो पार्किङ गरिराखेको छ । दाउ पूरा हुन कति कुर्नूपर्ने हो टुंगो छैन । तर, परबाट गाडी मालिक आएको देख्दैछु ।

उसको मालिक आएर गाडी स्टार्ट गर्छ । म साथीलाई छाडेर मालिकसँगै अगाडिको सिटमा बसेर के के चलाउँछन् ध्यान दिएर हेर्छु । एकैछिनमा ती मालिकको घर पुग्छु । मालिक उत्रिएर घरकै काममा लाग्छ । म भने गाडीलाई मन मनै घुमाएर पार्किङ गराउन खोज्छु ।

यी मालिककै छिमेकी रहिछन्, सिम्मामा । उनी त्यहीँ थिइन्, उनका भाइहरु पनि । दाइजस्ता देखिने युवक पनि थिए । उनी अलिक अनिँदो देखिन्थे । उनीहरु आफैँ सम्वाद गर्दै थिए । खोई, के कारणले अनिँदो भएको भनेर । साना भाइहरुले हाँस्दै भनेका थिए… कुन बजार जान नपाएको भनेर दाजुलाई जिस्काउँदै पनि थिए ।

त्यहीनेर दाजुभाइको गफ सुनेर हाँसो रोक्न नसकेर मुस्कुराएकी थिइन् सिम्मामा । मैले झलक्कै हेरेँ । कहीँ देखेजस्तो । चिनेजस्तो । अनायासै मैले उनले लगाएको कुर्ताको बाहुलामा तानेर सोधेँ, ‘तिमी त्यहीँ केटी होइनौँ ?’

उनले हो, को संकेत गरिन् । मलाई भने नमिठो लागेर आयो । केही नबोली, कुनै प्रतिक्रिया नजनाई म छिमेकी घरतिर गएँ । हो त्यहीँ, ती बृद्धा बर्बराउँदै थिइन् । आफन्तको वियोगमा पीडा कसलाई हुँदैन । त्यस्तै पीडामा बर्बराएकी हुन् ती बृद्धा ।

घरमै पसल भएकाले मलाई त्यहाँ जानु कुनै संकोच नै भएन । मैले चुरोट खाने बहाना गरेँ । आमैले चुरोट खोज्न थालेपछि मैले भने मोबाइल निकालेर क्यामेरा सेट गरेँ । तर, मभन्दा आमै चलाख निस्किन् । भनिन्, ‘किन खिच्नु र मेरो फोटो ।’

अघिल्लो दिनको साँझ फेसबुक चलाउँदै गर्दा साथी अर्जुन मेचेले पोस्ट गरेको सूचनाले मेरो दिमागमा गह्रौँ गरी घर गरेको थियो । अर्जुनधारा नगरपालिकाका खेलकुद संयोजक मेचेले समितिलाई जानकारी नगराइ फुटबल खेलाडीको छनौटका लागि सूचना प्रकाशित गरेका थिए ।

आफू पनि सदस्य भएको नाताले जानकारी पाउनुपर्ने जिकिर मेरो दिमागमा चलिरहेको थियो । मनोमानी ढंगले सूचना निकालेको देखेर झ्वाँक चलिरहेकै थियो, भोलि बिहान फोन गरेर समाचार लेख्नुपर्ला भन्ने सोचिरहेको थिएँ । लेखेको चाहिँ थिइनँ ।

संयोगवश, अर्जुनधाराका मेयर हरिकुमार रानासँग भेट भएको बेला सोधेको थिएँ, ‘मेयर साब खेलकुदमा मनपरी सुरु भएछ नि !’ उहाँले पनि भन्नुभएको थियो, ‘यस्तो नगर्नुपर्ने, साथीभाइसँग बसेर निर्णय गरिनुपर्ने हो, म बुझ्छु नी है बाबु ।’

चित्त नबुझेको विपनाका कुराले सपनामा पनि छाड्ने रहेनछ । मंसिर २३ गतेको यो घटना भोलिपल्ट सुल्झाउँला भन्ने थियो । तर, त्यहीँ रात सपनामा आइदियो । कुरा गर्न बाँकी नै छ, यथार्थ बुझौँला बिहान भएपछि । तर, समाचार लेख्न मन लागिरहेको छ । शीर्षक छ, ‘अर्जुनधारा खेलकुदमा मनपरी सुरु !’

यही समाचार लेख्ने सुर थियो । आमैको पीडामा म अल्झिएँ । आमैको भन्दा पनि सिम्मामासँगको फ्ल्यास ब्याकमा । आमैको फोटो खिच्नलाग्दा सिम्मामा पनि हामीनेर आइपुगेकी थिइन् ।

‘के लेख्नु परेको नि अर्काको कुरा ?’, आउनासाथ उनले भनिन् । आग्रह हो कि अनुग्रह ? बुझ्न सकिनँ । पत्रकारको धर्म सम्झिएँ, बिना अनुमति समाचार लेख्नु, फोटो खिच्नु पनि आचारसंहिताले दिँदैन । दोधारमा परेँ ।

सिम्मामाले केही फलफूल दिएजस्तो लाग्यो । उनीतिर हेरेँ । तर, उनले त फ्याँत्त भूइँमा पो राखिदिएकी रहिछन् । ‘यसरी दिन्छन् खानेकुरा ?’, मैले भनेँ । उनले केही प्रतिक्रिया दिइनन् । मात्र हेरिरहिन्… रिसाएझैँ गरेर ।

सिम्मामालाई एकछिन अघि भेटेको हो । त्यही पनि गाडी मालिकको घरमा । हिजो कतै देखेको पनि थिएँजस्तो लाग्छ ।

म अहिले जहाँ बस्छु, त्यो चौतारा हुनुपर्छ । मैले एक रात बिताएको छु त्यहाँ परिवासँग । झ्याल ढोका देखेको छुइनँ । हामी बसेको बायाँपट्टि झोलुङ्गे पुल छ जस्तो लाग्छ । घरि नगरपालिकाको भवन छ जस्तो पनि लाग्छ । जेजस्तो लागे पनि मैले सिम्मामालाई देखेको चाहिँ झोलुङ्गे पुलबाटै आउँदै गरेको नै हो ।

उनी अघि अघि थिइन् । साधारण कुर्ता सुरुवाल पहिरनमा सिम्मामाका पछि केही सिस्टरहरुजस्ता देखिने महिलाहरु थिए । उनी मेरै सामु आएर केही भनिरहेकी थिइन् । आवाज स्पष्ट थिएन । सम्भवतः कुनै याचना गरिरहेकी थिइन् ।

मैले हुँदैन वा छैन त्यस्तै जवाफ आउने प्रतिक्रिया दिएँ । उनी अघि बढिन् । पछिमात्र देखेँ, सिस्टरहरुका पछाडि शव बोकिएको रहेछ ।
म ड्राइभर साथीसँग नै गफिइहेको थिएँ । जुन चौतारा भनिएको छ नि, हो त्यही हो मेरो हिजोदेखिको घर । भर्खरै बसाइँ आएजस्तो भएको छ । पाँच धुर भनिएको त्यो चौतारामा एक रात बितिसकेको छ असहजपूर्वक । मेरो साथीले पनि पाँच धुर पुग्छ होला भन्ने टाउको हल्लाएपछि मेरो मन ढुक्क भएको छ ।

त्यस घर भनौँ वा चौतारा । चौतारा भनौँ, मेरो परिवारको सरसामानले भरिएको छ । घर भनौँ, जोकोही पनि पसेर ओगट्न खोज्छन् । बिहान उज्यालो हुन पाएको छैन, दुई नानीहरु आएर जबरजस्ती लुकामारी खेल्छन् सरसामानमाथि । फेरि, खजुरो र बिच्छी एकापसमा लडाइँ खेल्दै भित्रै पसेपछि मार्नुको विकल्प नदेखेर चप्पलको सहारा लिएको थिएँ ।

हामी आफ्नै गफको धुनमा थियौँ । गफकै क्रममा हाम्रा अघिल्तिरबाट एक हुल दायाँपट्टिको भवनतिर छिर्यो । हामीले वास्ता गरेनौँ । अगाडि पार्किङ गरेको गाडी हेर्दै गफ अघि बढिरह्यो ।

त्यहीबेला साथीले चलाउने गाडीको मालिक आएर म पनि सँगै गएको थिएँ । मालिकको घर पुगेपछि भेटिएकी थिइन् सिम्मामा । उनीहरु त्यहाँ गाईको दूध लिन पुगेका रहेछन् । गाडी मालिकको आँगनमा झट्ट देखेपछि चौताराको याद आयो अनि दौडिएको थिएँ सिम्मामाको घर ।

आमै बर्बराउँदै गर्दा म सिम्मामाको घर पुगेको थिए ।

मलाई आमैले भन्दा पनि सिम्मामाले नै खुलेर बताउन चाहन्थिन् । उनका बुवा घरबाट हराएको धेरै भएको थिएछ । हिजोमात्र खोइ कसले खबर पठाएछन् फेला परेको तर मृत । ‘खोपिल्टोजस्तो ठाउँमा रहेछ’, उनले भनिन्, ‘मलाई उठाउनु भन्दै थिए सकिनँ ।’

अब मलाई नमिठो लागेर आयो । उनै हराएका बुवा लिएर सिम्मामा मेरो छेऊ आएकी रहिछन् । त्यो बेला उनले के याचना गरेकी थिइन्, सोध्ने आँट आएन यतिखेर । सुक्सुकाइरहेकी थिइन् सिम्मामा ।

साँच्चै भन्ने हो भने मैले सिम्मामालाई किन नकारेको थिएँ ! मलाई बिर्तामोडका चोक र गल्लीमा मार्केटिङमा लागेका भाइबहिनीले गरेका अनुनय र विनय सम्झेर हो, अरु कुनै कारण छैन । त्यस्तै ठानेर मैले कुरा नसुनी, नबुझी सिम्मामालाई ‘हुन्न’को जवाफ फर्काएको थिएँ ।

दुःख त सबैलाई पर्छ । मलाई पनि दुःख परेर यहाँसम्मको जीवनयात्रा पार गरेको हुँ । जुन घर भनेर एक रात बिताएको चौतारा थियो । र, त्यहाँ रात बिताउने अरु मेरा परिवारका सदस्य थिए नि । ती पनि परिवारका सबै दिवंगत सदस्य नै थिए । जसरी सिम्मामाका बुवा दिवंगत भएर चौतारा अगाडि ल्याइँदै थियो ।

मैले चौतारामा बास बस्नुअघि झापा अर्जुनधारामा सिलु, निलुको पापा अर्थात् मेरो मामा बितेको खबर पाएको थिएँ । मेरो आमा र उहाँ दाजुभाइका सन्तान थिए । तर, मेरो आमा, आप्पा अनि छेमा यसअघि नै बितिसक्नु भएको थियो । जो सपनामा परिवारका सदस्य बनेर चौतारामा बास बस्न आइपुगेका थिए ।

सायद, दिवंगत आत्माहरुको पनि भेट हुँदो हो । त्यहीँ भेटपछि आफ्ना सन्तानलाई सम्झिए, वा मैले उहाँहरुलाई सम्झिएँ । चौताराको बास बनेर यो तेह्रथुमको सदरमुकाम म्याङलुङको ब्लु हेभन होटलको १०१ नम्बर कोठामा बिहानको उज्यालो हुनै लाग्दा सपना बनेर आइदियो ।

नजिकै रहेको मयाङलुङ देवीको मन्दिरमा घण्टहरुको चर्को आवाज आइरहेको छ यतिबेला । म ब्यूँझिदा आवाज थिएन, आधा घण्टा अघिसम्म पनि थिएन । पौने ६ भएछ अहिले । ब्यूँझदा सवा तीन भएको थियो । छेवैको बेडमा भाइ नारायण अर्याल ब्यूँझेर मोबाइल चलाइरहेको थियो । उ पनि अहिले त निदाइसकेछ । अर्को बेडमा भाइ राजु पौडेल घुरेर निद्रा पु¥याउँदैछ निरन्तर ।

ढोका र झ्यालका कापबाट छिरेका ठिहीले टाइपिङ गरिरहेका दुवै हातका पाखुरा चिसिइसकेका छन् । कचल्टिएका निन्द्राले आँखा पोल्न नि थाल्यो । अब म सुत्नु कि उठ्नु । आँखा अहिले पो पोल्न थाल्यो । भरै दिउँसो भगिमानसिं तुम्बाहाम्फे स्मृति गोल्डकपको लाइभ गर्नुछ, गोलनेपालबाट । अनिँदो बस्दा प्रेसर बढ्ला भन्ने डर छ ।

तर जेहोस्, पहिलो रात वा बिहानको यो हो मेरो कर्म । म सम्झिरहेको छु पत्रकार मित्र कुमार भट्टराईलाई । जतिखेर जे फुर्छ टिपेर राख्नुपर्छ भन्ने शब्द मेरो मनमा भए पनि उनले दोहो¥याइदिएका थिए । अनि एकै पटकमा फाइनल गरेँ, सिम्मामासँगको भेट र सपना ।