इलाम । इलामको उच्च क्षेत्रमा बाक्लो हिमपात भएको छ । जिल्लाको जौबारी, कालपोखरी, सन्दकपुरमा बाक्लो हिउँ परेको स्थानीयबासीले बताएका छन ।

शुक्रबार बिहानैबाट एक फिट भन्दा बढी बाक्लो हिउँ परेको सन्दकपुरका स्थानीय दिनेश ढकालले बताउनुभएको छ ।

हिमपातले जनजिवन प्रभावित भएको छ भने किसान भने उत्साहित भएका छन । समयमा हिउँ परेपछि बालीनाली सप्रने भएपछि किसान उत्साहित भएका छन ।

यस्तै, पूर्वी पहाडी उच्च क्षेत्रमा भारी हिमपात भएपछि सडक अवरुद्ध भएको छ ।

मौसममा आएको बदलीसँगै शुक्रबारदेखि पूर्वी पहाडी जिल्ला संखुवासभाको गुफापोखरी, मंगबारे, चौकी र तेह्रथुम तथा संखुवासभाको संगम स्थल तीनजुरे क्षेत्रमा हिमपात भएको छ ।

उता संखुवासभाको गुफापोखरीमा भारी हिमपात भइरहेको स्थानीय मन्जु खनालले जानकारी दिएकी छन् । उनका अनुसार हिमपातकै कारण गुफापोखरी जाने सडक अवरुद्ध भएको छ ।

धरानबाट ताप्लेजुङको साँघु पुगेर फर्किँदै गरेको यात्रुवाहक बस गुफापोखरीमा रोकिएको छ । सडक हिउले पुरै पुरिएपछि सवारी साधन चल्न सकेका छैनन् ।

यसैगरी ताप्लेजुङ, पाँचथरलगायतका जिल्लाका उच्च स्थानमा हिमपात भइरहेको छ । हिजो साँझदेखि त्यस क्षेत्रका आधिकांस भूभागमा हल्का पानी परीरहेको छ भने उच्च पहाडी भेगमा हिमपात भइरहेको छ ।