झापा । भारतसँग सिमाना जोडिएको झापाको राजगढस्थित भागुडुब्बामा सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएको छ ।

सीमा अतिक्रमण, अवैध निकासी-पैठारी, लागुऔषध ओसार-पसार, सिमानाको फाइदा उठाउँदै हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण गर्ने उद्देश्यले भारतको दिगलबैंकसँगको सीमामा बीओपी स्थापना गरिएको हो । बीओपी स्थापना गरिएको स्थानबाट लगभग ५ किलोमिटरको दूरीमा भारतसँगको सिमाना भेटिन्छ ।

एक वर्षअघि निर्माण शुरु भएको बीओपी भवनको प्रदेश नं १ का आर्थिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले उद्घाटन गरेका छन् । प्रदेश सरकारकै बजेटबाट बीओपी भवन निर्माण गरिएको हो ।

बीओपी भवनको उद्घाटनपछि समारोहलाई सम्बोधन गर्दै मन्त्री कार्कीले जनताको सुरक्षा र सीमाको रक्षाका लागि प्रदेश सरकारले कुनै कसर नराख्ने बताए । उनले प्रदेशका विभिन्न सीमाक्षेत्रका नेपाली गाउँ–वस्तीको सुरक्षाका लागि शसस्त्र प्रहरीको बीओपीहरु स्थापना गर्दै लगिने पनि जानकारी दिए ।

प्रदेश १ को झापा, मोरङ र सुनसरीका सीमावर्ती ३७ स्थानमा बीओपीका भवनहरु निर्माणको प्रक्रियामा रहेको मन्त्री कार्कीले बताए । ‘अहिले झण्डै ७ किलोमिटरको दूरीमा रहेका बीओपीहरुलाई ३ किलोमिटरको दूरीमा छोट्याउने योजना छ’, उनले भने । झापामा ८ वटा बीओपी रहने छन् ।

मन्त्री कार्कीले आवश्यकता अनुसार बीओपी स्थापना गर्दै लगिने बताउँदै त्यसका लागि स्थानीय तह वा स्थानीयवासीले जग्गा उपलब्ध गराए तत्काल प्रदेश सरकारबाट बजेटको व्यवस्था हुनसक्ने पनि स्पष्ट पारे ।

सशस्त्र प्रहरी बल नेपाल १ नं बराह वाहिनी सुनसरीका वाहिनीपति नगेन्द्रबहादुर थापाको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा पूर्व मन्त्री टेकनारायण राजवंशी, संविधानसभा सदस्य हरि राजवंशी, प्रदेशसभा सदस्य पूर्णसिंह राजवंशी, बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशीलगायते विकासले निकै पछाडि परेको भागुडुब्बामा बीओपी स्थापना भएकोमा खुशी व्यक्त गरे ।

डेढ दशकअघि भारतीय डाकाहरुबाट आफ्नो घरमा भएको डकैतीको पीडा सहेर पनि समाजको उन्नयनमा लाग्दै आएकी सुशीलादेवी राजवंशीले निःशुल्क रुपमा पाँच कट्ठा जग्गा उपलब्ध गराएपछि स्थापना भएको बीओपी भवन १ करोड ६१ लाख ७९ हजार रुपैयाँ लागतमा निर्माण भएको हो ।

सो पोष्टमा प्रहरी निरीक्षकको नेतृत्वमा २५ जनाको टुकडी रहने सशस्त्र प्रहरी बल नेपाल २ नं गण हेडक्वार्टर झापाका प्रहरी उपरीक्षक रेशमकुमार थक्सुले जानकारी दिए ।