0 Shares

भद्रपुर । झापाको हल्दिबारीमा रोटरी क्लब अफ भद्रपुर र रोट्रयाक्ट क्लब अफ भद्रपुरले बिहीबार संयुक्तरुपमा निःशुल्क आँखा तथा कान शिविर सम्पन्न गरेको छ ।

हल्दिबारी-३ जलथलस्थित लक्ष्मी मावि परिसरमा आयोजना गरिएको शिविरबाट स्थानीय र विद्यार्थीहरुले लाभ लिएका थिए ।

दृष्टि आँखा अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा ३४० जनाले आँखा र २१० जनाले कानको जाँच गराएको र दृष्टिको समस्या भएका ७० जनालाई चश्मा वितरण गरिएको थियो । यसैगरी निःशुल्करुपमा औषधि पनि वितरण गरिएको क्लबका सदस्य पवन श्रेष्ठले जानकारी दिए ।

क्लबका अध्यक्ष टिकाराज ढकालको अध्यक्षतामा आयोजित संक्षिप्त कार्यक्रमका बीच प्रमुख अतिथि हल्दिबारी गाउँपालिकाका उपाध्यक्ष डम्बर गिरीले शिविरको उद्घाटन गरेका थिए । क्लबका सचिव विनोद चापागाईंले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि गिरी, लक्ष्मी माविका प्रधानाध्यापक कृष्णप्रसाद दाहाललगायतले रोटरीले सामाजिक क्षेत्रमा गरिरहेको रचनात्मक क्रियाकलापको प्रशंसा गरेका थिए ।

शिविरमा दृष्टि आँखा अस्पतालका विशेषज्ञ चिकित्सक डा. अमित यादवलगायतका स्वास्थ्यकर्मीको टोलीले बिरामीको जाँच गरेको थियो ।