काँकडभिट्टा । पूर्वी नाका काँकडभिट्टामा आजदेखि भारतीय नम्बर प्लेटका गाडीलाई पार्किङ गर्न निषेध गरिएको छ।

अव्यवस्थित भारतीय गाडी पार्किङले नाकामै जाम हुँदा यात्रुलाई सास्ती हुने गरेको र फोहरमैला बढेका कारण पार्किङ निषेध गरिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक गोविन्द कार्कीले बताए।

मेची भन्सार कार्यालय, इलाका प्रहरी कार्यालय र सशस्त्र राजश्व गस्ती टोलीको संयुक्त पहलमा आइतबारमात्र पार्किङ गरेर राखिएका ५० गाडीलाई हटाइएको छ। भन्सारको चेक प्वाइन्ट अगाडि नै भारतीय गाडी पार्किङ हुँदै आएका थिए। यसअघि सुविधा तिरेर बस्दै आएका भारतीय नम्बर प्लेटका गाडीले यात्रु झार्ने बित्तिकै नाकाबाटै फर्किनुपर्ने र अटेर गरेमा कारवाही गरिने उनको भनाइ छ।

पर्यटन वर्ष नजिकिरहेको अवस्थामा नाकामा सवारी साधानको पार्किङलाई व्यवस्थित गर्न र अनाधिकृत रुपमा नेपाल भित्रिने भारतीय गाडीलाई रोक्न उक्त अभियानको शुरुवात गरिको मेची भन्सार कार्यालयका प्रमुख धुव्र विश्वकर्माले बताए। उनका अनुसार ती सवारी साधानले भन्सारमा राजश्व तिरेर वा सुविधा लिएर दिनभर नेपाली भूभागतिर घुमे पनि साँझ भारत नै फर्कनुपर्नेछ। रासस